फागुन २० देखि विमानस्थल थप एक घण्टा खुल्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१५ फाल्गुन २०८१, बिहीबार ०६:५६

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको भौतिक प्रगति ६० प्रतिशत पूरा भएको जनाएको छ। गत कात्तिक २३ देखि माघ १८ सम्म १० घन्टा विमानस्थल बन्द गरी सुरु गरिएको स्तरोन्नति सोमबारसम्म ६० प्रतिशत पूरा भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले बताएका हुन्।

यसअघि धावनमार्गको ७५ मिटर वरपरको काम सकिएसँगै माघ १९ देखि थप दुई घन्टा उडान समय थपिएकामा फागुन २० देखि थप एक घन्टा समय बढाइने उनको भनाइ छ। यो बीचमा कुनै अवरोध नभए स्तरोन्नति सकाएर आगामी १८ देखि विमानस्थल पूर्ण सञ्चालनमा ल्याइनेछ। हाल स्तरोन्नतिका लागि विमानस्थल बेलुका ११ देखि बिहान ७ बजेसम्म पूर्ण रूपमा बन्द हुँदै आएको छ।

विमानस्थल धावनमार्गका दुवै बिन्दुतर्फका समानान्तर ट्याक्सी वे, धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ एरियालाई एप्रोनसँग जोड्ने बाटो र ह्यांगर क्षेत्रतर्फ भइरहेको विस्तार सकिएसँगै वार्षिक १ करोड हवाई यात्रुले सेवा लिन सक्ने पूर्वाधार तयार हुनेछ।

प्राधिकरणका अनुसार विमानस्थल स्तरोन्नतिको काम सकिएपछि धावनमार्गको क्षमता करिब २० प्रतिशत बढ्नेछ। एयर ट्राफिक कन्ट्रोलरलाई एयर ट्राफिक व्यवस्थापन गर्न सहज, उडान अवतरणमा हुने ढिलाइमा कमी र हवाई सुरक्षामा सुदृढ हुने अपेक्षा प्राधिकरणको छ।

गत कात्तिक २३ देखि सुरु भएको विमानस्थलको ट्याक्सी वे, धावनमार्ग जोड्ने लिंक वे तथा जहाज पार्किङ क्षेत्रलाई एप्रोनसँग जोड्ने बाटो निर्माण र ह्यांगर क्षेत्रतर्फ विस्तारको काम ६० प्रतिशत सकिएको हो।

‘समानान्तर ट्याक्सी वे निर्माण, ह्यांगर क्षेत्र विस्तार, इन्टरनेसनल एप्रोनतर्फको समष्टिगत भौतिक प्रगति उत्साहप्रद छ। विमानस्थलको क्षमता विस्तार गरेर अन्तर्राष्ट्रिय स्तरको मापदण्डसरह बनाउन सुरु गरिएको काम तोकिएको समयमै सकिने विश्वासमा छौं’, प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने।

प्रतिक्रिया