ओलीपछि निधिले भनेः संविधान संशोधन ०८७ मा, अहिले दुई तिहाइ पुग्दैन

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ फाल्गुन २०८१, बिहीबार ०७:११

काठमाडौं । नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले संविधान संशोधन २०८७ मा हुने बताएका छन् । आज (बुधबार) पार्टीनिकट नेपाल प्रजातन्त्र सेनानी संघको दोस्रो महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले १० वर्षको अनुभवको आधारमा संविधानमा संशोधन र परिमार्जन आवश्यक भएपनि अहिले संख्या नपुग्ने बताएका हुन् । उनले भने, ‘संविधान संशोधन गर्ने हामीले सम्झौता गरेका छौं । सम्झौता गरेपनि नगरेपनि नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली हामीले ल्याएका छौं । त्यो प्रणाली सर्वोत्त्तम लोकतान्त्रिक प्रणाली हो । १० वर्षको अनुभवको आधारमा संविधानको संशोधन गर्न आवश्यक छ । यसको नेतृत्व नेपाली कांग्रेसले गर्नु आवश्यक छ । २०८७ मा होला । अहिले दुई तिहाइ पुग्दैन, संख्या हुँदैन ।’

नेता निधिले सात वटा प्रदेश भनिएपनि प्रदेशसँग प्रहरी संगठन नरहेको र आफ्नै निजामति कर्मचारी नरहेको लगायतका समस्याहरु राखे । उनले संविधान संशोधन गरी संघीयताको मर्मअनुसार कांग्रेसले आवश्यक सुधारको नेतृत्व गर्नुपर्ने बताए । उनले अबको सत्ताको नेतृत्व कुनै पनि कम्युनिष्ट पार्टीले लिन नसक्ने दाबीसमेत गरे । कांग्रेसमात्रै लोकतान्त्रिक शक्ति रहेको उनको दाबी छ । ‘अब सत्ता कम्युनिष्टहरुले लिँदैन । कुनै पनि कम्युनिष्ट पार्टीहरुले लिँदैन, निर्दलवादी पार्टीले लिँदैन, एकदलवादी पार्टीले लिँदैन, क्षेत्रीय पार्टीले लिँदैन । नेपाली कांग्रेसमात्रै लोकतान्त्रिक पार्टी हो,’– उनले भने ।

कांग्रेस–एमालेसहितको वर्तमान सत्ता गठबन्धन बन्दा संविधान संशोधनको एजेण्डालाई सबैभन्दा बढी महत्वपूर्ण रुपमा उठाइएको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीले ०८७ सालअघि संविधान संशोधन हुन नसक्ने अभिव्यक्ति दिइसकेका छन् ।

 

प्रतिक्रिया