निजामती कर्मचारी संगठनको ३४ वर्षे इतिहासमा पहिलो महिला अध्यक्ष बनिन् भवानी

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ फाल्गुन २०८१, आईतवार ०७:५४

काठमाडौं । निजामती क्षेत्रको सबैभन्दा ठुलो ट्रेड युनियनको रूपमा रहेको नेपाल निजामती कर्मचारी संगठनको अध्यक्षमा भवानी न्यौपाने दाहाल सर्वसम्मत रूपमा चयन भएकी छिन् ।

दाहालले संगठनको ३४ वर्षे इतिहासमा पहिलो महिला अध्यक्षको रेकर्ड बनाउन सफल भएकी हुन् । एमाले निकट मानिने नेपाल निजामती कर्मचारी संगठन २०४७ साल वैशाख ७ गते स्थापना भएको थियो । त्यसदेखि हालसम्म आउँदा संगठनले दाहाल सहित १६ अध्यक्ष पाएको छ । यसअघिका १५ जनानै पुरुष अध्यक्ष रहँदै आएकोमा हालै सम्पन्न १२ औ महाधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गर्दै पहिलो महिला अध्यक्षको रेकर्ड बनाएको हो ।

यसै गरी संगठनको वरिष्ठ उपाध्यक्षमा रेवन्त गौतम र प्रभाष शाह चुनिएका छन् । यस्तै उपाध्यक्षहरुमा कृष्णबहादुर केसी, युवाचन्द्र घिमिरे, विष्णु प्रसाद अर्याल तथा महिला उपाध्यक्षमा विजयालक्ष्मी सुवेदी चयन भएकी छन् । यसै गरी महासचिवमा रामचन्द्र अधिकारी(आरसी) चयन भएका छन् भने उपमहासचिवमा वामदेव ओली, सूर्य बहादुर कुँवर, र महिला उपमहासचिवमा कमला दाहाल चुनिएका छन् ।

सचिवहरूमा राज बहादुर पछाई, तेज प्रकाश भण्डारी, ओमबहादुर कठायत, गोविन्द अधिकारी तथा महिला सचिवमा देवी पराजुली चयन भएका छन् । सम्पन्न १२ औ महाधिवेशनले १९ सदस्यीय पदाधिकारी सहित १६४ सदस्यीय केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको नवनिर्वाचित महासचिव रामचन्द्र अधिकारी(आरसी) ले जानकारी दिए ।

प्रतिक्रिया