उपेन्द्रले मधेशी जनताप्रति घात नगर्ने हो भने अध्यादेश पास हुनेवाला छैन, त्यसपछि सरकार गम्भीर नैतिक शंकटमा पर्छः प्रचण्ड

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ माघ २०८१, मंगलवार ०६:५८

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेशी जनताप्रति घात नगरेर आफ्ना एजेण्डामाथि अडिग रहने हो भने सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेश पास नहुने बताएका छन् । सोमबार महोत्तरीको बर्दिबास–३ स्थित आधारशीला कम्युनको २२औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले अध्यादेश जनताको हितमा नरहेको बताएका हुन् ।

जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवतर्फ लक्षित गर्दै प्रचण्डले भने, ‘यदि मधेशी जनताको हितको कुरा गर्ने, पहिचानको र अधिकारको कुरा गर्ने, लोकतन्त्र, गणतन्त्र र संघीयताको कुरा गर्ने दल, जसको राष्ट्रिय सभामा पनि उपस्थिति छ, तिनीहरुले जनताप्रति घात नगर्ने हो, आफ्नो एजेण्डाप्रति इमानदार हुने हो भने अध्यादेश पास हुनेवाला छैन,’– उनले भने ।

अध्यादेश अस्वीकृत भएसँग सरकारमाथि गम्भीर नैतिक प्रश्न खडा हुने उनले बताए । अहिले पनि सरकारमाथि नैतिक प्रश्न खडा भइसकेको र जनतामा सरकारप्रति व्यापक वितृष्णा रहेको उनले बताए । अध्यादेशको कारणले जनतामा रहेको वितृष्णा अझ बढी बढ्दै गएको उनले बताए ।

वर्तमान गठबन्धन सरकार असंवैधानिक, अलोकतान्त्रिक र अपारदर्शी रहेको उनले बताए । वर्तमान संविधान र परिवर्तनको वहाक माओवादी र नेपाली जनता नै रहेको बताउँदै उनले यसको संरक्षणको लागि एकजुट हुन आग्रह गरे ।

प्रतिक्रिया