काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवन जिल्ला अदालतमा धरौटीवापत बैंक ग्यारेन्टी बुझाएका छन् । न्यायाधीश दयाराम ढकालको इजलासले लामिछानेलाई ५४ लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । अदालतको आदेशबमोजिमको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासत मुक्त भएका छन् ।
चितवनका सहारा सहकारी ठगी प्रकरणमा मुछिएका लामिछाने आफैं अदालतमा उपस्थित भएका थिए ।लामिछानेको बयान सकिएर थुनछेक बहस भएको थियो । थुनछेक बहस नसकिएपछि लामिछानेलाई अदालतले न्यायिक हिरासतमा पठाएको थियो ।
बैंक ग्यारेन्टी बुझाएर हिरासतमुक्त भएका लामिछानेले चितवनबाट आफूलाई न्याय नहुने भन्ने प्रश्न नै नरहेको बताए । चितवनबासीहरुले आफ्नो न्यायको लागि बारम्बार लडिदिएको पनि उनले स्मरण गरे । लामिछानेले जालझेलपूर्ण ढंगले आफ्नो सांसद् पद निलम्बन गरिएको पनि बताए ।
‘चितवनबासीले दुई÷दुई पटक मलाई निर्वाचित गरेर पठाइसक्दाखेरी जालझेलपूर्ण ढंगले मेरो सांसद पदलाई निलम्बन गरिएको छ । म तमाम चितवनबासी आमाबुबा, दाजुभाइ दिदीबहिनीहरुलाई के भन्न चाहन्छु भने यो एउटा प्रश्रव पीडा हो । बच्चा जन्मिनुभन्दा पहिला ठूलो प्रश्रवपीडाबाट आमाहरु गुज्रिनुपर्ने हुन्छ । त्यसैगरी चितवनले परिवर्तन जन्माउन खोजेको छ,’– उनले भने ।
प्रतिक्रिया