होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशद्वारा दुई दिने कार्यशाला गोष्ठीको आयोजना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१८ माघ २०८१, शुक्रबार ०६:५०

काठमाडौं। होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आयोजना र काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघको सह आयोजनामा धुलिखेलमा दुई दिने संघको रणनैतिक योजना तर्जुमा कार्यशाला गोष्ठी शुरु भएको छ ।
बुधबार काभ्रेको धुलिखेलस्थित धुलिखेल भिलेज रिसोर्टमा आयोजित कार्यशाला गोष्ठीको प्रदेश संघका अध्यक्ष दामोदर नेपाल र निवर्तमान अध्यक्ष सन्तोष उप्रेतिले संयुक्त रुपमा उद्घाटन गरेर शुरु भएको हो । कार्यशालामा सह आयोजक संघ काभ्रे होटल तथा रेष्टूरेण्ट व्यवसायी संघका अध्यक्ष तथा प्रदेश संघका बरिष्ठ उपाध्यक्ष श्यामकुमार भालु मुनालले स्वागत मन्तव्य मार्फत उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो । उक्त कार्यशाला गोष्ठीमा प्रमुख सहजकर्ताको रुपमा अन्तर्राष्ट्रिय परिवर्तनकारी नेतृत्व प्रशिक्षक राजु सरकार रहनु भएको छ भने दुई दिनसम्म चल्ने कार्यशाला गोष्ठीले होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशको आगामी दुई वर्षे कार्य योजना तयारीका लागि
बृहत छलफल गरी सैद्धान्तिक, व्यवहारिक एवं उद्देश्यपरक योजना तर्जुमा गरी दुई वर्षे परिणाममुखी रणनैतिक कार्ययोजनाको मस्यौदा तयार गर्नुका साथै नेतृत्व विकास सम्बन्धी तालिम समेत प्रदान गर्ने बताइएको छ ।

कार्यशालामा संघमा आवद्ध १३ वटै जिल्लाका अध्यक्षहरुका साथै प्रदेश संघका सम्पूर्ण पदाधिकारी, सदस्य एवं सल्लाहकारहरु र मातहतका अन्य संघ संस्थाका पदाधिकारीहरुको समेत उल्लेख्य उपस्थिति रहेको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाई सक्नु भएका र अत्यन्तै धेरै अनुभव हासिल गर्नु भएका व्यवसायिक प्रशिक्षक एवं मोटिभेटर राजु सरकारले सहजिकरण गर्नु भएका कारण पनि कार्यशाला अत्यन्तै उपलब्धीमूलक रहने अपेक्षा सहभागीहरुले गरेका छन् । कार्यशाला गोष्ठीको समापन बिहीबार बेलुका हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया