एक रात बस्न लाखसम्म तिर्नुपर्ने नेपालको होटल, यस्तो छ १० होटलको रुमरेट

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ माघ २०८१, बिहीबार १६:३३

काठमाडौं । एक दशकअघि नेपालमा ठूला होटल (तारे होटल) हरूको संख्या न्यून थियो । अहिले होटलको संख्या पनि बढेको छ । नेपालमा १० वर्षअघिदेखि सञ्चालनमा रहेका पाँचतारे होटलहरूमा द एभरेष्ट होटल, द सोल्टी होटल, याक एण्ड यति, हायातलगायत हुन् ।

होटलको संख्या वृद्धि भएसँगै आजको दिनसम्म आइपुग्दा तारे होटलको एक रातको रेट दोब्बरले वृद्धि भएको छ । नेपाल होटल संघका महासचिव साजन शाक्य नेपालमा चेन होटलहरू सञ्चालनमा आउनु र नयाँ होटलको संख्या बढ्न थालेसँगै होटलको रेट ह्वातै बढेको बताउँछन् । शाक्यका अनुसार एक दशकअघि पाँचतारे होटलहरुको रुम रेट सामान्यतया १२० डलरदेखि १५० डलरसम्म उपलब्ध हुन्थ्यो ।

हाल पाँचतारे होटलहरूले कोठाको मूल्य एक रातकै दुई सय डलरदेखि पाँच सय डलरसम्म तोकिसकेका छन् । जुन नेपाली रुपैयाँ २७ हजारदेखि ६७ हजार रुपैयाँ हो । औसतमा हाल पाँचतारे होटलहरूको रुम रेट नै १५० डलर हो । अझ अहिले धेरैजसो तारे होटलहरूमा लक्जरियस रुम आइसकेका हुनाले त्यसको रेट एक लाखभन्दा माथिसम्म पर्ने संघका महासचिव शाक्यले सुनाए ।

विश्वभरी महामारीको रूपमा फैलिएको कोभिड- १९ को समयमा भने पाँच तारे होटलहरूको रुम रेट ह्वातै घटेको संघका महासचिव शाक्यले बताए । उनका अनुसार उक्त समयमा पाँच तारे होटलको कोठाको मूल्य दैनिक ५० डलरको हाराहारीमा झरेको थियो ।

कोभिडका कारण पर्यटक आगमन ठप्प हुनु र धेरैजसो होटलहरू बन्द भएका कारण कोठाको मूल्य पनि घट्न पुगेको उनले सुनाए । महासचिव शाक्यका अनुसार होटलहरूले अहिले वार्षिक ३० लाख पर्यटकलाई ८ देखि १० दिनसम्मको लागि राख्न सक्ने क्षमता भइसकेकेको छ ।

द सोल्टी

काठमाडौंमा रहेको सुविधा सम्पन्न होटल द सोल्टीमा एक रातको एउटा कोठाको मूल्य न्यूनतम १८ हजार ३२६ रुपैयाँदेखि ७१ हजार रुपैयाँसम्म रहेको छ । यसले स्वीट्स रुमको ६३ हजार १२२ रुपैयाँ चार्ज लिँदै आएको छ ।

चन्द्रगिरी हिल्स

अन्तर्राष्ट्रियस्तरको सुविधाले सम्पन्न चन्द्रगिरी हिल्समा एक रातको एउटा रुमको रेट २५ हजार ३९१ रुपैयाँदेखि माथि रहेको छ । उक्त होटलमा डिलक्स रुमको रेट २३ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म रहेको छ ।

माउन्टेन भ्यू हेर्न मिल्ने डबल बेड भएको रुमको २५ हजारदेखि २६ हजार रुपैयाँसम्म र किङ बेड रुमको २९ हजार रुपैयाँसम्म तोकेको छ ।

द एभरेष्ट होटल

काठमाडौंको नयाँ बानेश्वरमा अवस्थित द एभरेष्ट होटलमा एक रातको एउटा रुमको रेट १७ हजार ३७५ रुपैयाँदेखि माथि रहेको छ । उक्त होटलमा डिलक्स डबल रुमको २३ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्म तोकेको छ । त्यस्तै, होटलले माउन्टेन भ्यूसहितको डबल बेडको २५ देखि २६ हजारसम्म र किङ रुमको २६ देखि २९ हजारसम्म मूल्य तोकेको छ ।

हिल्टन काठमाडौं

काठमाडौंमा रहेको चेन होटल हिल्टनमा एक रातको कोठाको मूल्य न्यूनतम २३ हजार रुपैयाँदेखि माथि छ । होटलले प्रिमियम टुइन रुमको मूल्य २५ हजारदेखि ४२ हजारसम्म तोकेको छ ।

त्यस्तै, एक्सक्युटिभ किङ रुमको न्यूनतम ३१ हजार रुपैयाँदेखि ४८ हजारसम्म, एक्सक्युटिभ टुइन रुम ३१ हजार रुपैयाँदेखि ४४ हजार, प्रिमियम किङ रुमको मूल्य ३६ हजार रुपैयाँदेखि ५३ हजार र किङ स्वीटको मूल्य ५० हजारदेखि ६७ हजारसम्म तोकेको छ ।

हायात प्लेस काठमाडौं

धेरैलाई हायात होटलमा बस्न सकिँदैन, त्यहाँको रुम रेट महँगो लाग्न सक्छ । तर हायात प्लेस होटलमा एउटा कोठाको मूल्य न्यूनतम १६ हजार रहेको छ । त्यस्तै, एउटा रुममा दुईटा बेड भएको कोठाको मूल्य पनि १६ हजार रुपैयाँदेखि १८ हजार रुपैयाँसम्म रहेको छ ।

हायातले दुईवटा बेडसहित बौद्धनाथ स्तुप हेर्न मिल्ने कोठाको मूल्य १८ हजारदेखि २० हजार रुपैयाँसम्म निर्धारण गरेको छ । हायातमा क्लबसहितको रुम पनि रहेको छ । जसको एक रातको मूल्य २२ हजार रुपैयाँदेखि २५ हजारसम्म तोकेको छ । हायातमा २ लाख रुपैयाँसम्मको कोठाको रेट रहेको छ ।

द मल्ल होटल

द मल्ल होटलमा एउटा कोठाको मूल्य न्यूनतम १४ हजार ९८५ रुपैयाँ रहेको छ । त्यहाँ डिलक्स रुमको १७ हजार ७१० रुपैयाँ (सिंगल बेड) र डबल बेडका लागि १९ हजार रुपैयाँ रेट तोकिएको छ । त्यस्तै, जुनियर स्वीट रुमको २० हजार १३५ रुपैयाँदेखि २१ हजार ७९७ रुपैयाँसम्म छ । मल्ल होटलमा डिलक्स रुमको ४० हजार ८७० रुपैयाँदेखि ४३ हजार रुपैयाँ तोकिएको छ ।

अलप्ट, काठमाडौं

ठमेलमा रहेको अलप्ट होटलमा एउटा रुम न्यूनतम १४ हजार ८४९ रुपैयाँमा उपलब्ध हुन्छ । त्यहाँ क्लब, लञ्जसहितको सिंगल बेडको रेट २० हजारदेखि २१ हजारसम्म तोकिएको छ । अन्य कोठाहरूको मूल्य पनि अलप्टले त्यहीअनुसारको रेट तोकेको छ।

अकामा होटल, काठमाडौं

धुम्बाराहीमा रहेको अकामा होटलमा एउटा कोठाको रेट २४ हजार हजारदेखि माथि छ । अकामामा सुपर किङ र टुइन रुमको २७ हजार रुपैयाँ, डिलक्स रुम २९ हजार ९७१ रुपैयाँ रहेको छ । यसैगरी, स्वीट रुमको ४० हजार ८७० रुपैयाँदेखि ५४ हजार ४९३ रुपैयाँ तोकिएको छ । अकामामा एक रातको ६८ हजार रुपैयाँको कोठासमेत रहेको छ ।

याक एण्ड यति

नेपालमा पाँच तारे होटलमध्ये एक याक एण्ड यतिमा एक रातको एउटा कोठाको मूल्य न्यूनतम २० हजार रुपैयाँ रहेको छ । यहाँ १ लाख ५१ हजार रुपैयाँसम्मको कोठा पाइन्छ । उक्त होटलमा डिलक्स रुम २० हजारदेखि २५ हजारसम्मको रहेको होटलले जनाएको छ ।

क्लबसहितको कोठाको रेट ३० हजार रुपैयाँदेखि ३४ हजार, स्वीट रुमको ६८ हजारदेखि डेढ लाखसम्मको रेट तोकिएको छ ।

होटलहरूको पछिल्लो अवस्था र सम्भावना

नेपाल पर्यटन विभागका अनुसार पछिल्लो समय होटलहरूको संख्या ११२ पुगिसकेको छ । जसमध्ये २६ वटा पाँचतारे होटल सञ्चालनमा आइसकेका छन् । यसमा पनि तीनवटा पाँचतारे (डिलक्स) रहेका छन् । त्यस्तै, ३९ चारतारे, ४० तीनतारे, ५२ दुईतारे र ४७ वटा एकतारे होटलको संख्या पुगेको छ ।

नेपालको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने क्षेत्रमध्ये होटल क्षेत्र पनि एक हो । नेपालमा धेरै मात्रामा पर्यटक भित्र्याउन सकियो भने र सरकारले त्यहीअनुसार होटल क्षेत्रमा साथ दिएको अवस्थामा होटल व्यवसायमा राम्रो सम्भावना भएको होटल संघका महासचिव शाक्यको भनाइ छ ।

होटल व्यवसायको चुनौती

शाक्यका अनुसार पछिल्लो समय होटल व्यवसायले खासै राम्रो गर्न नसकेपनि लगानी गरिसकेको हुनाले त्यसलाई जसरी पनि उठाउनुपर्ने ठूलो चुनौती छ ।

‘अहिलेको अवस्थामा होटलहरूले त्यति राम्रो गरेका पनि छैनन्, खासै घाटामा पनि छैनन् । व्यवसाय ४० प्रतिशतमात्रै छ । जबकि होटलहरूको खर्च नै ४० प्रतिशत छ,’ महासचिव शाक्यले भने ।

होटल निर्माणमा ठूलो लगानी लागेको हुँदा व्यवसायीहरूलाई ठूलो चुनौती छ । नेपालमा पर्यटनको वृद्धि बढाउन सकेसँगै होटल व्यवसायी पनि फस्टाउँदै जाने सम्भावना देखिन्छ ।

होटलहरूले पनि विगतका तुलनामा पछिल्लो समय अन्तर्राष्ट्रिय स्तरको सेवासुविधाहरू बढाउँदै लगेका छन् । होटलमा त्यहीअनुसारको नयाँनयाँ इक्युपमेन्टको प्रयोग हुन थालेको छ ।

पर्यटन बोर्डका प्रवक्ता कालीप्रसाद भुजेल पछिल्लो तथ्यांकमा विदेशी पर्यटकको संख्या उल्लेखनीय रूपमा वृद्धि भएका हुनाले यसले होटल व्यवसायीलाई ठूलो राहत पुग्ने बताउँछन् । साथै पछिल्लो समय आन्तारिक पर्यटकको संख्या पनि बढ्दो भएकाले व्यवसायीहरूले निराशा नै हुनुपर्ने अवस्था नभएको पनि उनले बताए ।

उनका अनुसार यो वर्ष पनि तीनवटा नयाँ पाँचतारे होटल थपिनु र बाँकी चारवटा पाइपलाइनमा हुनु भनेको होटल व्यवसायमा सम्भावना नै रहेको भन्ने बुझिन्छ ।

प्रतिक्रिया