करोड धरौटी बुझाएर छुटे रवि लामिछाने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१४ माघ २०८१, सोमबार ०६:५२

रुपन्देही ।  बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । बैंक ग्यारेन्टीमार्फात उनले अदालतमा धरौटी बुझाएको बताइएको छ ।

यसअघि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लाद योगीको इजलासले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई एक करोड धरौटीमा छाड्ने आदेश दिएको थियो । लामिछाने यसअघि गत पुस २५ गते पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की जिल्ला अदालतमा ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा माघ २ गते काठमाडौं जिल्ला अदालतमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए । ती दुवै अदालतमा प्रभु बैंकले ग्यारेन्टी बसिदिएपछि रवि रिहा भएका थिए ।

रवि गत बुधबार रुपन्देही अदालतमा उपस्थित भएपछि यस प्रकरणमा सुनुवाइ भएको थियो । तर यस पटक रविलाई न्यायाधीश योगीले हिरासतमा नपठाई परिवारसँग रहने गरी श्रीमतीको जिम्मामा रहने सुविधा दिएका थिए । बिहीबारदेखि सुरु थुनछेक बहस सकिएपछि रविलाई धरौटीमा रिहा गर्ने आदेश भएको हो ।

यससँगै तीनवटा अदालतबाटै रविलाई जेल जानु नपर्ने गरी तत्काललाई राहत मिलेको छ। तर मुद्दाको अन्तिम किनारा लाग्दा जेल जानुपर्ने सम्भावना कायमै छ । तीनै अदालतले रविलाई सहकारी ठगी प्रकरणमा निदोर्ष मानिहाल्न सकिने आधार नरहेको टिप्पणी उठाएका छन् ।

प्रतिक्रिया