संसदभित्र र बाहिर एक ढिक्का भएर प्रस्तुत हुने कांग्रेसको निर्णय

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१३ माघ २०८१, आईतवार ०७:०९

काठमाडौं । नेपाली कांग्रेसले संसदभित्र र संसदबाहिर एक ढिक्का भएर प्रस्तुत हुने निर्णय गरेको छ । सिंहदरबारमा शनिबार बसेको पदाधिकारी, पूर्व पदाधिकारी, प्रमुख सचेतक-सचेतक र मन्त्रीहरूको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

प्रमुख सचेतक श्यामप्रसाद घिमिरेले पार्टीमा आन्तरिक केही कुरा भए आइतबार र सोमबार बस्न गइरहेको संसदीय दलको बैठकमा प्रस्तुत गरेर छलफल गर्ने र संसद् र संसद् बाहिर प्रस्तुत हुँदा एक ढिक्का भएर प्रस्तुत हुने निर्णय बैठकले गरेको जानकारी दिए ।

‘भोलि र पर्सी संसदीय दलको बैठकमा छलफल गरेर कांग्रेसभित्र रहेका केही कुरा छन् भने दलकै बैठकमा प्रस्तुत गर्ने र एक ढिक्का भएर एउटै आवाजका साथ एउटै स्वरका साथ संसद्मा प्रस्तुत हुने र बाहिर पनि प्रस्तुत हुँदाखेरि एक ढिक्का भएर प्रस्तुत हुने सहमति भयो । निर्णय भयो,’ बैठकपछि प्रमुख सचेतक घिमिरेले भने ।

बैठकमा वर्तमान सरकारको अवस्था, सरकारले गरिरहेका काम–कारबाही, संसद्मा प्रस्तुत भएका विधेयक र प्रस्तुत हुने विधेयक तथा अध्यादेशहरूका बारेमा गृहमन्त्री रमेश लेखकले ‘ब्रिफिङ’ गरेका थिए ।

प्रतिक्रिया