काठमाण्डौ । बुढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखाद्वारा नगरस्तरीय खोप समन्वय समितिका पदाधिकारीहरुलाई एच.पि.भी. खोप अभियान सम्वन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
यहि माघ महिनाको २२ गते देखि फागुन ६ गते सम्म बुढानिलकण्ठ नगरपालिकामा संचालन हुने अभियानका वारेमा जानकारी प्रदान गरिएको सो कार्यक्रमको अध्यक्षता नगर प्रमुख मिठाराम अधिकारीले गरेका थिए भने कार्यक्रम माथि प्रकास पार्दै स्वास्थ्य महाशाखाका प्रमुख कुमार प्रसाद दाहालले स्वागत मन्तव्य राखेका थिए।
जिल्ला जनस्वास्थ्य कार्यालय काठमाण्डौका बरिष्ठ जनस्वास्थ्य प्रसासक सतिस बिस्टको प्रस्तुतीकरण रहेको सो अभिमुखीकरण कार्यक्रममा नगरपालिकाका कक्षा ६ देखि १० सम्मका करिव ८७९२ जना छात्राहरुलाई खोप लगाइने जानकारी प्रदान गरिएको थियो।
सो कार्यक्रममा बोल्दै नगर प्रमुख अधिकारीले अभियानको प्रचारमा जोड दिदै यसलाई सफल बनाउनका लागि वडा स्तरमा नै प्रभातफेरी लगायतका काम गर्नुपर्ने बताएका थिए।
नगरको जनस्वास्थ्य महाशाखाका जीवन खतिवडाले संचालन गरेको सो अभिमुखीकरण कार्यक्रममा नगरुपप्रमुख अनिता लामा सहित विभिन्न वडाका अध्यक्षहरु , स्वास्थ्य कार्यालयका प्रम्यूखहरु सहित विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
प्रतिक्रिया