काठमाडौं र कास्कीबाट छुटेका रविविरुद्ध रुपन्देहीमा मुद्दा दर्ता गरिँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ माघ २०८१, शुक्रबार ०७:१४

काठमाडौं ।  जिल्ला अदालत काठमाडौंबाट मंगलबार ६० लाख रुपैयाँ धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रुपन्देहीमा अर्को मुद्दा दर्ता तयारी भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले पूर्वगृहमन्त्री लामिछाने र उनका साझेदार एवम् गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसहितविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गर्न लागेको हो ।

बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम ठगी प्रकरणमा लामिछानेसहितका प्रतिवादीहरूविरुद्ध शुक्रबार पुरक अभियोग दर्ता गर्ने तयारीमा सरकारी वकिल कार्यालय रहेको छ ।

बिहीबार मात्रै १७ जनाविरुद्ध थप अभियोग पत्र दायर गरिएको छ । गोर्खा मिडिया नेट्वर्कमा रविका साझेदार तथा सुप्रिम सहकारीका सञ्चालक गितेन्द्रबाबु राई (जीबी)सहित २८ जनाविरुद्ध पहिले नै अभियोग दर्ता भइसकेको छ। बिहीबार थप अभियोगमा प्रतिवादी जीबीसहित १७ जनाविरुद्ध संगठित अपराधको कसुर समावेश गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

यसअघि नै मुद्दा दर्ता भइसकेकाहरूको कसुरमा बिहीबार थप कसुर र बिगोसहित अभियोग लगिएको छ । पुरक अभियोग शुक्रबार दर्ता गरिने जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीले जनाएको छ ।

लामिछाने र जोशीविरुद्ध सहकारी ठगी र संगठित अपराधमा पनि मुद्दा दायर गर्ने तयारी सरकारी वकिलको कार्यालयले गरेको छ ।

सुप्रिम सहकारीबाट एक हजार ८२८ जना बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रुपैयाँ ठगी गरेको आरोप छ। बचतकर्ताको रकम यी २८ प्रतिवादीको संलग्नतामा विभिन्न व्यक्तिको नाममा अपचलन गरेको पुरानै अभियोग छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले रविको नाममा सुप्रिम सहकारीबाट २ करोड रुपैयाँ निकासा गरिएको भेटिएको जनाएको छ।

प्रतिक्रिया