काठमाडौँ । प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका छन्।
यसअघि गत पुस २३ गते प्रधानमन्त्री ओलीले संविधान संशोधन ०८७ सालमा मात्रै हुने बताएका थिए। यसका प्रति कांग्रेस नेताहरूले असन्तुष्टि व्यक्त गरिरहँदा देउवाले भने सार्वजनिक रूपमा केही बोलेका छैनन्।
तर, प्रधानमन्त्री ओलीले त्यस्तो बताएपछि देउवाले फोन भने गरेका छन्। कांग्रेसका एक नेताले बताएअनुसार देउवाले ओलीलाई फोन गरेर ‘त्यस्तो नभनेको भए पनि हुन्थ्यो’ भनेर सुझाव दिएका छन्।
ती नेताले भने, ‘हाम्रो सभापतिज्यूले प्रधानमन्त्रीलाई फोन गरेर त्यस्तो नभनेको भए पनि हुन्थ्यो भनेर भन्नुभयो। उहाँले कुन सन्दर्भमा त्यसो भन्नुभयो भनेर पनि सोध्नुभयो।’
जवाफमा प्रधानमन्त्री ओलीले के भने भन्नेबारे भने ती नेता खुलाएनन्। बरु उनले कांग्रेस सातबुँदे समझदारीबाट पछि नहट्ने बताए। ‘उहाँले किन र कुन सन्दर्भमा भन्नुभयो, त्यो हाम्रो सरोकारको विषय रहेन। तर, हामीले सातबुँदे समझदारीअनुरूप अगाडि बढ्नुपर्छ भन्नेमा प्रष्ट छौँ।’
कांग्रेस र एमालेबीच गत असार १७ गते सत्ता गठबन्धन बनाउने सहमति हुँदा सातबुँदे समझदारी भएको थियो। समझदारीको दोस्रो बुँदामा संसद्का दुई ठूला पार्टीबीच सत्ता गठबन्धन बन्नुको औचित्य संविधान संशोधन भनिएको छ।
तर, उक्त सहमतिअनुरूप प्रधानमन्त्री बनेका ओलीले भने अहिले आएर संविधान संशोधनको भाखा पाँच वर्ष उता पुर्याएका हुन्। कांग्रेस नेताहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, अर्जुनरसिंह केसी, एनपी साउदलगायतका नेताहरूले भने सार्वजनिक रूपमै सत्ता गठबन्धनको औचित्यमाथि प्रश्न खडा गरेका छन्।
प्रतिक्रिया