काठमाडौं। आइतबारदेखि सुरु नेकपा (एमाले) केन्द्रीय कमिटीको आठौं बैठकले पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीबाट निष्कासन गर्ने पुस ११ गतेको सचिवालय बैठकको निर्णयलाई अनुमोदन गरेको छ।
आइतबारको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वउपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सेनाको कारबाहीलाई सर्वसम्मत अनुमदोन गरिएको जानकारी दिए ।
‘बैठकमा राजनीतिक प्रतिवेदनसहित साङ्गठनिक कामको जानकारी, राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकपछि भएका केन्द्रीय सचिवालय र पोलिटब्युरो बैठकका निर्णय प्रस्तुत गरेर पारित भएका छन्’, गौतमले भने, ‘पार्टीका नेताहरूमाथि भएको कारबाहीलाई पनि बैठकले सर्वसम्मत पारित गरेको छ ।’
दशौँ महाधिवेशनमा केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका तत्कालीन उपाध्यक्ष रावललाई एमालेले पार्टीबाटै निकालेको छ । उनलाई पार्टीविरोधी गतिविधि गरेको भन्दै पुस ११ गतेदेखि च्यासलको ढोका बन्द गरिएको हो ।
उता असोज २५ गते कीर्तिपुरमा शिलान्यास गरिएको केन्द्रीय कार्यालय भवन निर्माणको विरोधमा बवलेपछि पाण्डे र तिम्सेनालाई कारबाही गरिएको थियो । व्यवसायी मीनबहादुर गुरुङले दिएको १० रोपनी जग्गामा भवन शिलान्यास गरिएपछि यी दुई नेतृले सार्वजनिक रुपमा विरोध गरेका थिए । उनीहरूलाई सचिवालयले ६ महिनाका लागि गरेको निलम्बनलाई केन्द्रीय कमिटीले अनुमोदन गरेको हो ।
दुई नेतृमाथिको कारबाही उल्टिन सक्ने चर्चा यसअघि गरिएको थियो । तर अध्यक्ष ओलीले आफूले गरेको कारबाहीमा केन्द्रीय कमिटीलाई पनि सहमत गराएर अनुमोदन गराएका हुन् ।
यो बैठकमा अध्यक्ष ओलीले ४३ पृष्ठे लिखित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले नयाँ राजनीतिक कोर्स–एमाले र नेपाली काङ्ग्रेससँगको गठनबन्धनको आवश्यकता, औचित्य र अवसर, गठनबन्धनपछिका ६ महिना लगाएतबारे स्पष्ट पारेका छन् ।
प्रतिक्रिया