सूर्यदर्शन सहकारी ठगी प्रकरण: थुनछेक बहसमा बाबु-छोरीको रुवाबासी, न्यायाधीश राईले स्थगित गरे सुनुवाइ

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ पुष २०८१, बुधबार ०७:२०

काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणबारे कास्की अदालतमा जारी थुनछेक बहसको क्रममा रुवावासी चलेपछि सुनुवाइ स्थगीत भएको छ ।

सहकारी ठगी प्रकरणमा अभियुक्त बनाईएका ८० वर्षका कृष्णबहादुर गुरुङले इजलासमक्ष आफूलाई नखाएको विष लागेको भन्दै आत्महत्या गर्ने अभिव्यक्ति दिएपछि रुवाबासी चलेको हो । गुरुङको उक्त अभिव्यक्तिपछि पूर्व सांसदसमेत रहेकी मिना गुरुङपनि रुन थालिन् । मीना र कृष्णबहादुर दुवै बाबु छोरी हुन् ।

बाबुछोरी नै रुन थालेपछि न्यायाधीश नितीज राईले आजको सुनुवाइ स्थगीत गरेका छन् । अब भोलि बाँकी थुनछेक बहस हुनेछ । यो सहकारी ठगीमा रास्वपाका सभापति रवि लामिछानेसमेत जोडिएका छन् । उनी कात्तिक २ गतेबाट कास्की प्रहरीको हिरासतमा छन् ।

उक्त मुद्दामा अदालतमा रविसँगै पूर्वडीआईजी छविलाल जोशी, जीबी राईका पार्टनर लिला पछाईं, रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङको बयान सकिएसँगै थुनछेक बहस सुरु भएको हो ।

रवि गोर्खा मिडिया प्रा.लि.को एमडी हुँदा कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारीबाट अवैधानिक रुपमा ल्याइएको पैसा खर्च गर्ने प्रक्रियामा संलग्नता देखिएको आरोपमा उनलाई पक्राउ गरिएको थियो । लामिछानेसँगै गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशी पनि पक्राउ गरेका थिए । उनको पनि बयान सकिएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ५१ जनाविरुद्ध डेढ अर्बभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको थियो । सो सहकारी ठगीका मुख्य नाइकेका रुपमा चिनिएका गोर्खा मिडियाका नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई भने हाल फरार छन् ।

प्रतिक्रिया