काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी पार्टी बलियो र देशको एक नम्बरको पार्टी भए देशमा सुशासनको नयाँ युग सुरु हुने बताए । कञ्चनपुरको पुनर्वासमा आयोजित भ्रष्टाचार र बेथितिविरुद्ध खबरदारी तथा पार्टी एकता समायोजन सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
सरकारले गरेका भ्रष्टाचारका हरेक काण्डलाई खोतलेर कारबाही गरिने उद्घोष गर्दै अध्यक्ष प्रचण्डले भने, ‘हामी एक नम्बरको पार्टी भएमात्रै देशमा भ्रष्टाचारको अन्त्य हुनेछ । यो सरकारले यति धेरै भ्रष्टाचार गरेको छ, भ्रष्टाचारीलाई यसै छोडिने छैन। गिरिबन्धु, यति ओन्नी, नक्कली भुटानी शरणार्थी बनाएर गरिएको भ्रष्टाचार, वाइडबडी खरिदमा गरिएको भ्रष्टाचार यसै छोडिने छैन। यो सबैको निम्ति माओवादी केन्द्रलाई बलियो बनाउन जरुरी छ । हेर्नुहोला, अर्को पटक माओवादी बलियो भयो भने देशमा सुशासनको नयाँ युग सुरु हुनेछ । भ्रष्टाचारीहरुलाई लखेट्ने प्रक्रिया सुरु गरिनै सक्यौं,’– उनले भने ।
आफ्नो सरकारले भ्रष्टाचारविरुद्ध, सुशासन, सामाजिक न्याय, समृद्धिका पक्षमा काम गरेको बताउँदै अध्यक्ष प्रचण्डले मिटर ब्याजीहरू मिटर ब्याजको नाममा जनतालाई शोषण गर्नेहरु पनि भयभीत र आतंकित भएर सरकार ढाल्ल लागि परेको बताए । उनले वर्तमान सरकार भ्रष्टाचारीको पक्षमा रहेको दाबी गरे । ‘सरकार सुशासनको विरुद्ध, भ्रष्टाचारीको पक्षमा छ । भ्रष्टाचारका विरुद्ध छैन,’– उनले भने ।
अध्यक्ष प्रचण्डले सरकार गलत कदम र आफु नेतृत्वले गरेका कामका कारण देशभर माओवादी केन्द्रमा देशैभरी माओवादीमा एकताबद्ध हुने र समायोजन हुने लहर चलेको बताए । पुनर्वासमा एमाले, कांग्रेस लगायतका पार्टीमा क्रियाशील नेता कार्यकर्तालाई माओवादी केन्द्रमा स्वागत गरेका प्रचण्डले भने, ‘देशैभरी माओवादीमा एकताबद्ध हुने, समायोजन हुने लहर चलेको छ । पर्सी म झापा जाँदै छु। प्रधानमन्त्री केपी ओलीको निर्वाचन क्षेत्रमा त्यहाँ पनि हजारौं प्रवेश गर्ने तयारी छ,’– उनले भने ।
प्रतिक्रिया