काठमाडौं । काठमाडौंको ह्याम्स अस्पतालले घाउ नबनाइन इण्डोस्कोपीद्वारा गरिने ‘पोइम’ प्रविधिको शुरुवात गरेको छ । अस्पतालले तीन जना बिरामीलाई नेपाली चिकित्सकद्वारा मुलुकमै पहिलो पटक सम्पन्न इण्डोस्कोपी शल्यक्रिया सेवा दिएर ‘पोइम’ प्रविधिको शुरुवात गरेको हो । पौष १ गते सम्पन्न उक्त सेवा अस्पतालले बिरामीलाई निःशुल्क रुपमा प्रदान गरेको हो ।
यो शल्यक्रिया यसअघि वीर अस्पताल सम्पन्न गरिएको भनिए पनि त्यसबेला अन्तर्राष्ट्रिय चिकित्सक नेपाल आएर सम्पन्न गरेको अस्पतालको दाबी छ । ‘त्यसबेला विदेशी चिकित्सकहरु नेपाल आएर सो शल्यक्रिया गरेपनि नेपालकै चिकित्सकले यही सम्पन्न गरेको सम्भवतः यो पहिलो ‘पोइम’ प्रविधिको शल्यक्रिया हो’, ग्यास्ट्रोइन्टोरोलोजिष्ट डा. नन्दु पौडेल सिलवालले भने ।
डा. विवेक कुमार पुर्वेको नेतृत्व तथा भारतका म्यास सुपर स्पेशालिटी अस्पतालका प्रमुख ग्यास्ट्रोइन्टेरोलोजिष्ट डा. विकास सिंगलको निगरानीमा भएको शल्यक्रियामा ग्यास्ट्रोइन्टोरोलोजिष्ट सिलवालसहित डा. अजित खनाल तथा एनेस्थेसियोलोजीद्वय डा. मुरारी राज उप्रेती तथा डा. सुरज लामिछानेलगायतको टोली खटेका थिए ।
खाना एवम् तर पदार्थ निल्न नसकिने र गाहृो हुने यस किसिमको समस्या विश्वभरी करिव १ लाख मध्ये १ जनालाई देखिने तथ्यांक भएपनि यो समस्याका बिरामी अझै बढी हुनसक्ने अस्पतालका मेडिकल निर्देशक डा. सविन कोइरालाले बताए ।
यसअघि उक्त रोगको स्थायी उपचार शल्यक्रियाबाट मात्रै हुने गरेकोमा अब भने घाउ नबनाइन उपचार गर्न सम्भव भएको कोइरालाको भनाई छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै अस्पतालका निर्देशक आरएस भण्डारीले भनेबिरामीको आवश्यकता अनुसार ह्याम्सले यो सेवा अब निरन्तर रुपमा प्रदान गर्ने जनाए ।
के हो अकेलेजिया कार्डिया ?
अकेलेजिया कार्डिया एक प्रकारको दुर्लभ रोग हो । यो रोगमा खकार र पेटलाई जोड्ने अन्ननलीको तलको माशंपेशी राम्ररी खुल्दैन । जसका कारण यी समस्याका बिरामीलाई कुनै पनि खाना वा तरल पदार्थ निल्नमा असहज तथा गाह्रो हुन्छ । परिणामस्वरुपः व्यक्तिले खाएको कुरा अन्ननलीमै अड्किन्छ ।
खानाको नलीमा हुने यस रोगका लक्षणमा बिरामीमा तौल घट्ने, खोकी लागिरहने, खाना निल्दा छाती वा घाँटीमा अड्किएको महसुस हुने, पेटबाट खाना फिर्ता आउने, छातीमा जलन तथा दुखाइ हुने गर्दछ । यो रोगको ठोस कारण के हो भन्नेबारे भने यकिन नभएको डा. विवेकले बताउँछन् ।
‘जसकारण यसलाई ‘अटोइम्युन डिजिज’ पनि भनिन्छ । यद्यपि कतिपय अवस्थामा भने यो संक्रमणको कारण पनि हुने सम्भावना उच्च रहन्छ’, उनले सुनाए । यस समस्यालाई समयमै उपचार नगरे क्यान्सर समेत हुनसक्ने उनको भनाई छ ।
यसका विभिन्न उपचार पद्वतिमध्ये हालसम्म नेपालमा केही ठूला अस्पतालहरूमा र केही चिकित्सकबाट यस रोगको निदान बेलुन फुलाएर खाद्यनलीको तल्लो भागको हाई टोनमामा खुम्चिएर बसेको मांसपेशीलाई च्यातेर गरिँदै आइएको थियो ।
के हो ‘पोइम’ प्रविधि ?
केलेजिया कार्डिया भएका बिरामीहरूको उपचारका लागि प्रयोग गरिने ‘पोइम’ (पर ओरल इन्डोस्कोपिक माईटोमी) एक प्रकारको अत्याधुनिक इन्डोस्कोपी उपचार हो । यसलाई सरल तरिकामा भन्नुपर्दा, शरीरमा कुनै पनि ठूलो घाउ नबनाइकनै गरिने उपचार विधि भनेर पनि बुझ्न सकिन्छ ।
यस उपचार पद्वतिमा बिरामीको शरीरमा सानो प्वाल बनाएर इन्डोस्कोपी प्रयोग गरेर उपचार गरिन्छ । अकेलेजिया कार्डिया उपचार गर्दा सबैभन्दा पहिले इन्डोस्कोपीको प्रयोग गरेर अन्ननलीको मांशपशी काटिन्छ । जसले अन्ननलीको तल्लो भाग (लोवर इसोफेगल स्फिन्कटर) लाई रिल्याक्स गराएर खाना निल्न सजिलो बनाउँछ ।
यो प्रविधिबाट उपचार गर्दा सबैभन्दा पहिले बिरामीलाई एनेस्थेसिया दिइन्छ । त्यसपछि मुखबाट पाइप हालेर अन्ननलीभित्र लैजान्छ । त्यसपछि अन्ननलीको भित्तामा सानो चिरा बनाएर समस्या भएको मांशपेशीलाई काटिन्छ र त्यो भागलाई पछि सिलाएर प्रक्रिया पुरा गरिन्छ ।
प्रतिक्रिया