काठमाडौं । आख्यानकार रमेश विकलको स्मृति दिवसका अवसरमा साहित्यकार, कलाकार, शोधकर्ता तथा समाजसेवी लगायतलाई पुरस्कार अर्पण गरिएको छ । रमेश विकल साहित्य प्रतिष्ठान, आरुबारीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाका सहआयोजनामा पुस ६ गते आरुबारीमा सम्पन्न कार्यक्रममा भाषा, साहित्य, कला तथाा समाजसेवाका क्षेत्रमा सक्रिय व्यक्तित्वहरुलाई पुरस्कृत गरिएको हो ।
प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरेको सभापतित्व तथा प्रतिनिधिसभा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्य, गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपक रिसाल, तथा संविधानसभाका पूर्व सदस्य एवं वाग्मती प्रदेशका पूर्व मन्त्री रामेश्व फुयालको विशिष्ट आतिथ्यमा समारोह सम्पन्न भएको थियो ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामा विशेष अतिथ्यता रहेको थियो भने अतिथिका रुपमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ का अध्यक्ष नन्दलाल श्रेष्ठ, ९ का अध्यक्ष राजिव थापा, रमेश विकल साहित्य प्रतिष्ठानका उपाध्यक्ष केके कर्माचार्य लगायत विशिष्ठ व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
रमेश विकल साहित्य प्रतिष्ठानका महासचिव विजय चालिसेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दीप प्रज्वलन, स्व. रमेश विकलको तस्वीर र सरस्वतिको प्रतिमामा माल्यर्पण गरी कार्यक्रमको सुरुवात गरिएको थियो ।
समारोहमा नृत्यशास्त्री भैरवबहादुर थापालाई रमेश विकल वाङ्मय पुरस्कार, मासिक एकसय अभियानलाई रमेश विकल–सुशीला समाजसेवा पुरस्कार, साहित्यकार युवराज मैनालीलाई रमेश विकल सिर्जना पुरस्कार, अमरकुमार प्रधानलाई रमेश विकल बालसाहित्य पुरस्कार प्रदान गरिएको थियो ।
यसै गरी रमेश विकल–सुशीला संघर्षशील नारी पुरस्कार चिनीमाया माझीलाई प्रदान गरियो भने रमेश विकल कला–ंसंगीत पुरस्कार रामकृष्ण दुवाल तथा दर्शनाचार्य शोधसम्मान कमला रेग्मीलाई प्रदान गरिएको छ । पुरस्कृत व्यक्तित्वहरुलाई सभापति, प्रमुख अतिथि, विशिष्ठ अतिथि तथा अतिथिहरुले दोसल्ला, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो ।
समारोहमा स्व. विकलको बहचर्चित कृति ‘अविरल बग्दछ इन्द्रावती’ उपन्यासहित संयुक्त विद्यावारिधि शोध ग्रन्थका लागि डा. बिदुला घिमिरेलाई प्रोत्सहन पुरस्कार प्रदान गरिएको थियो भने बालसाहित्यको क्षेत्रमा उल्लेखनीय काम गरेवापत ‘सुनौलो पाइल नेपाललाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया