काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षका उम्मेद्वार रमेश विष्टमाथि सादा पोशाकका सुरक्षाकर्मी खटाईएको भन्दै विभिन्न ७ पत्रकार संघले गम्भीर ध्यानाकार्षण गराएका छन् ।
प्रेस सेन्टर नेपालका अध्यक्ष विष्णु सापकोटा, समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदी, क्रान्तिकारी प्रेस संगठन नेपालका अध्यक्ष नारायण शर्मा, प्रगतिशील पत्रकार संघ नेपालका महासचिव प्रकाश थापा, जनपत्रकार संगठन नेपालका अध्यक्ष शेरबहादुर विश्वकर्मा, प्रेस मञ्च नेपालका महासचिव अवधेश झा र क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष कमल बुढाले आज एक विज्ञप्ती जारी गर्दै यस्तो दाबी गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ–‘सत्तापक्षले राज्यका संयन्त्रको दुरुपयोग गर्दै श्रमजीवी पत्रकारहरुको साझा प्यानलका उम्मेद्वार र मतदातामाथि अनावश्यक हस्तक्षेप र निगरानी गर्ने, खुल्ला रुपमा धम्क्याउने, सरकारका मन्त्री र सत्तारुढ पार्टीका नेताहरुले डर, धाक र प्रलोभन दिनेजस्ता कार्य गरिरहेका छन् । विशेषतः हाम्रो प्यानलका अध्यक्षका उम्मेद्वार रमेश विष्टका गतिविधि निगरानी राख्न उनका पछाडि केही सादा पोशाकका सुरक्षाकर्मी खटाईएको विषय पनि गम्भीर छ ।’
पत्रकारको चुनावमा सत्तापक्षबाट भएको नांगो हस्तक्षेप र मानसिक रुपमा दबाब सिर्जना गर्ने कार्यको घोर विरोध र भत्र्सना गर्दै स्वतन्त्र ढंगले निर्वाचन प्रक्रियामा सहभागी हुने वातावरण सुनिश्चित् गर्न माग गरेका छन् ।
प्रतिक्रिया