काठमाडौँ । काठमाडौँको ब्रम्हखेलमा गाडी दुर्घटना गराएका झाँक्री प्रकाश भुजेललाई अदालतले थुनामा पठाउने आदेश गरेको छ । अदालतको आदेश अनुसार उनलाई मुद्दा पुर्पक्षका लागि थुनामा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।
कार्तिक २८ मा काठमाडौँको शंखरापुर नगरपालिका–९ स्थित ब्रम्हखेलमा झाँक्रीले चलाएको जीपले ठक्कर दिँदा कागेश्वरी मनोहरा–२ का नारायण नगरकोटी र उनकी पत्नी सानुमायाको मृत्यु भएको थियो । दुर्घटनापछि झाँक्री पक्राउ परेका थिए ।
झाँक्रीले चलाएको बा.१९ च २६९५ नम्बरको गाडीले नारायण नगरकोटीको दम्पती सवार बागमती प्रदेश–०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । नगरकोटी दम्पतीको उपचारको क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको हो । नगरकोटीका दुई जना बच्चा छन् । घटनाबारे प्रहरी वृत्त बौद्धले अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।
प्रतिक्रिया