भ्रष्टाचार आरोपीलाई विशेषले सफाइ दिएपछि सर्वोच्च पुग्यो अख्तियार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ मंसिर २०८१, बुधबार ०६:४२

काठमाडौं । भ्रष्टाचार आरोपमा मुद्दा दायर गरिएका प्रतिवादीलाई विशेष अदालतले सफाइ दिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ ।

सोलुखुम्बुको लिखुपिके गाँउपालिका–२ का तत्कालीन वडा अध्यक्ष रमेशकुमार बस्नेत, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारी र लेखा प्रमुख जीवन सुवेदीलाई विशेषले एक वर्षअघि सफाइ दिने भनेर गरेको निर्णयविरुद्ध आयोगले मंगलबार पुनरावदेन गरेको हो ।

विशेषले गरेको फैसला आयोगलाई चित्त नबुझेपछि सर्वोच्च अदालतमा पुनरावेदन गरिएको प्रवक्ता नरहरि घिमिरेले बताए । वडा कार्यालय भवन निर्माणका लागि निःशुल्क रूपमा दानपत्रमा पास गरेको जग्गा त्यसविपरीत हुने गरी बस्नेत, भण्डारी र सुवेदीले झुट्टा बिल भरपाईको आधारमा ६ लाख ६० हजार भुक्तानी गरेकोमा लेखा परीक्षण बेरुजुपश्चात ६० हजार दाखिला गरी बाँकी ६ लाख बराबरको हानिनोक्सानी पुर्‍याएको अख्तियारको अभियोग छ ।

प्रतिवादीहरूको मनसाय पहिला निःशुल्क जग्गा प्राप्तिका लागि केही प्रयास गरे जस्तो देखाउने गरी सूचना निकाल्ने र पछि नक्कली बिल भरपाई दिई रकम लिने मनसाय रहेको उनीहरूको कार्यबाट देखिएको आयोगले बताएको छ ।भवन निर्माणका लागि निःशुल्क रूपमा प्राप्त गरेको तथ्य २०७५ फागुन १५ गतेको मालपोत कार्यालयमा भएको दानपत्रको लिखतबाट देखिएको आयोगले जनाएको छ । उक्त हक हस्तान्तरण गर्ने लिखतमा मात्र नभएर र जग्गा खरिद गर्दा बिक्री गर्दा बुझाउनु पर्ने मालपोत रसिदमा समेत निःशुल्क उल्लेख भएबाट जग्गा खरिद नगरी निःशुल्क रूपमा वडा कार्यालयले प्राप्त गरेको आयोगले जनाएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, पुस ७, २०८१