काठमाडौं । नेपाल सरकार र चीन सरकारबीच बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) फ्रेमवर्कमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा आज बेइजिङमा दुई देशबीच बीआरआई सहकार्यको फ्रेमवर्कमा हस्ताक्षर भएको हो ।
नेपाल र चीन सरकारबीच हिजो (मंगलबार) भएको उच्चस्तरीय भेटवार्तामा बीआरआई फ्रेमवर्कमा हस्ताक्षर हुन सकेको थिएन । मंगलबार उच्चस्तरीय भेटवार्तापछि ९ बुँदे सहमति र समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई र चीनका नेसनल डेभलपमेन्ट उन्ड विकास रिफर्म कमिसनका उपाध्यक्ष लिउ सुशेले फ्रेमवर्कमा हस्ताक्षर गरेका छन् । बीआरआई अन्तर्गत नेपालले १० वटा परियोजना अगाडि सारेको छ ।
बीआरआईको फ्रेमवर्क परियोजनामा डडेलधुरास्थित अमरगढी सिटी हल, जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन, मदन भण्डारी विश्वविद्यालय, काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम, दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क र झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स समेटिएका छन् । रोचक कुरा के भने, झापा प्रधानमन्त्री केपी शर्मा ओली र डडेलधुरा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला र निर्वाचन क्षेत्र हो ।
त्यस्तै, टोखा–छहरे सुरुङमार्ग, हिल्सा–सिमकोट सडक परियोजना, किमाथांका–खाँदबारी सडक र पुल, जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग फ्रेमवर्कभित्र समेटिएका छन् ।
प्रतिक्रिया