काठमाडौँ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएन । मंगलबार काठमाडौँ ल्याउने भनिएपनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिएको छ । उनलाई थप १५ दिन हिरासतमा राख्न मंसिर ९ मा कास्की प्रहरीले अदालतबाट म्याद लिएको थियो ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्राविधिक कारणले उनलाई मंगलबार ल्याउन नसकिएको प्रहरीका उच्च अधिकृतले बताए । ती अधिकृत भन्छन्, ‘उहाँलाई काठमाडौँ ल्याउन थप समय लाग्ने देखिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरे बुधबारका लागि बिदामा बसेका छन् । उनलाई बिहीबार साँझसम्ममा काठमाडौँ ल्याउने सम्भावना रहेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले बताए ।
स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी जोशीसँग बयान लिएर पोखरा फिर्ता पठाइएको छ । काठमाडौँमा रास्वपाले विरोध प्रदर्शन गर्ने विश्लेषण गरेर पनि उनलाई ल्याउन ढिला गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।
प्रतिक्रिया