काठमाडौँ । छविलाल जोशी २०७३ मा जिल्ला प्रहरी परिसर काठमाडौँको प्रमुख थिए । कार्यालयमा उनको गाडी प्रवेश गर्दा सलामी दिइन्थ्यो । हतियार प्रदर्शन गरेर कार्यालय प्रमुखलाई दिने सलामीलाई फौजमा ‘अर्पण सस’ भनिन्छ । तर, अहिले समय फेरिएको छ ।
मङ्गलवार साँझ इन्स्पेक्टर दीपकबाबु केसीले उनलाई पोखराबाट काठमाडौँ ल्याए । थुनुवाको रुपमा आफूलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा लगेपछि जोशीले भने– ‘समयको चक्र यस्तै रहेछ ।’
सुर्यदर्शन र सुप्रिम सहकारीको अनुसन्धानको क्रममा पोखरामा रहेका जोशीसँग स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई प्रहरीले काठमाडौँ ल्याएको हो । २०७३ माघमा काठमाडौँ प्रहरी प्रमुखको कमान्ड समालेका जोशी त्यहीबाट डीआईजी भएर निस्केका थिए ।
समयको चक्रले घुमाएर उनी अहिले त्यही कार्यालयको हिरासतमा पुगेका छन् । जोशी पुगेपछि उनीसँग काम गरेका चालक, बडीगार्ड र सहयोगीहरू पुगे । सबैले सलाम गरे । मुसुक्क हाँस्ने पुरानो बानीलाई निरन्तरता दिँदै जोशी बोले, ‘के गर्ने पहिले यहीँ सलाम खाइयो, अहिले हिरासतमा आइपुगेँ ।’
काठमाडौँ प्रहरीमा थुनुवा राख्ने दुई तलाको हिरासत कक्ष छ । जोशीलाई माथिल्लो तलामा राखिएको छ । उनलाई सहजीकरण गर्न एक जना जवान सँगै राखिएको छ । कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारी उनीभन्दा तल्लो तलामा बस्छन् ।
पूर्वडीआईजी जोशी, पूर्व गृहमन्त्री लामिछाने र सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई व्यापारिक साझेदार हुन् ।
प्रतिक्रिया