पूर्वसभामुख ढुङ्गानाको राजकीय सम्मानसहित अन्त्येष्टि

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ मंसिर २०८१, मंगलवार ०६:११

काठमाडौं । पूर्वसभामुख दमननाथ ढुङ्गानाको अन्त्येष्टि गरिएको छ । सोमबार दिउँसो पशुपति आर्यघाटमा उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो । उनलाई छोराहरूले दागबत्ती दिएका छन्। लगत्तै नेपाली सेनाको एक टुकडीले शोकधुन बजाएको थियो। उनको अन्तिम बिदाइमा पशुपति आर्यघाटमा मन्त्रीगण, नेपाल सरकारका उच्च पदस्थ अधिकारी,सुरक्षा निकायका प्रमुख, नेता(कार्यकर्ता,शुभेच्छुक तथा सर्वसाधारणको भीड लागेको थियो।

अन्तयेष्टि अघि ढुङ्गानाको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज बिहान ११ बजेदेखि ज्ञानेश्वरस्थित सानो गौचरणमा रािखएको थियो । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित विभिन्न राजनीतिक दलका नेता तथा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरु त्यहाँ पुगेर ढुङ्गानाप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए ।

कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुङ्गानाको बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा ८३ वर्षको उमेरमा आइतबार दिउँसो निधन भएको थियो । त्यसलगत्तै ढुङ्गानाको पार्थिव शरीर त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालस्थित शवगृहमा राखिएको थियो ।

सोमबार  बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले ढुंगानाको राजकीय सम्मानसहित अन्तयेष्टि गर्ने र  देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेपालमा बहुदलीय व्यवस्था, लोकतन्त्र, शान्ति र मानवअधिकारका पक्षमा जीवनपर्यन्त वकालत गर्नुहुने ढुङ्गानाले मुलुकमा विगतको माओवादी सशस्त्र द्वन्द्व अन्त्य गरी शान्ति बहाली गर्नसमेत महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए

राजनीति क्षेत्रमा देखिएको विकृति र विसङ्गतिबारे स्पष्ट र खरो रुपमा प्रतिक्रिया दिँदै आएका उनी संविधान र कानुनका ज्ञाता थिए । विसं २०४८ मा काठमाडौं निर्वाचन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी प्रतिनिधिसभाको सभामुख बनेका थिए ।

नेपालको संसदीय व्यवस्था र प्रजातान्त्रिक मूल्य मान्यतालाई संस्थागत गर्न उनको ठूलो योगदान छ । उनी सिद्धान्त, निष्ठा, स्वाभिमान र नैतिकतामा अडिग रही राष्ट्रिय एकता र मेलमिलापका माध्यमद्वारा राजनीतिक विवाद समाधानका पक्षमा लागि रहने नेपाली कांग्रेसको दोस्रो पुस्ताका नेताका रुपमा स्थापित थिए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, मंसिर ४, २०८१