आज हरिबोधनी एकादशी : हरिबोधनी एकादशी किन मनाईन्छ ? यस्तो छ महत्व !

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२७ कार्तिक २०८१, मंगलवार ०६:४३

काठमाडौं । कात्तिक शुक्लपक्षको प्रबोधिनी एकादशी व्रत बस्नाले पापको नाश,पुण्यवृद्धि र मोक्ष प्राप्ति हुने तथा सो दिन उपवास बस्नाले हजार अश्वमेध तथा सय राजसूय यज्ञको फल प्राप्त हुने धार्मिक मान्यता रहेकोछ । यसलाई ठूली एकादशीको रुपमा पनि मान्ने गरिन्छ । ठूली एकादशीमा गृहिणीहरूले घर आँगनमा रोपिएका तुलसीको विधिपूर्वक विवाह गर्दछन् ।

 

तुलसीको मठलाई गोबर, माटोले लिपपोत गरी सेता,रातो,पहेलो वस्त्र तथा फूलमालाले सिँगार्नुका साथै विष्णुको प्रतीक लिङ्गो गाडी पूजा गरिन्छ । यो एकादशीका दिन विशेष गरेर तुलसीको विवाह सम्पन्न गरी व्रतालुले फलाहारका रूपमा पिँडालु र सक्खरखण्ड प्रयोग गर्ने नेपाली चलन रहेकोछ । एक पटक भगवान नारायणसित लक्ष्मीले भनीन–‘हे नाथ १ अब हजुर दिन–रात जागा रहनु हुन्छ र सुत्नुभयो भने पनि लाखौँ–करोडौँ वर्षसम्म सुत्नुहुन्छ तथा त्यस समय समस्त चराचरको नाश पनि गर्नुहुन्छ ।

अतः हजुर नियमले प्रतिवर्ष आराम गरी निद्रा लिने गर्नुहवस् । यसबाट मैले पनि केही समय विश्राम गर्ने समय प्राप्त गर्नेछु ।’ लक्ष्मीका कुरा सुनेर नारायण मुस्काउनु भयो र भन्नुभयो–‘देवी’ १ तिमीले ठीक भन्यौ । म जागा रहेपछि सबै देवता र खासगरी तिमीलाई कष्ट हुन्छ ।

 

तिमीलाई मेरो सेवाबाट थोरै पनि अवकाश प्राप्त हुँदैन । त्यसैले, तिम्रो कथनानुसार आजदेखी म प्रतिवर्ष चार महिना वर्षा ऋतुमा शयन गर्नेछु । त्यस समय तिमीलाई र समस्त देवगणले अवकाश प्राप्त हुनेछ । मेरो यो निन्द्रा अल्पनिद्रा र प्रलयकालीन महानिद्रा नामबाट प्रख्यात हुनेछ । यो मेरो अल्पनिद्रा मेरा भक्तका निम्ति परम मंगलकारी उत्सवप्रद तथा पुण्यवर्धक बन्नेछ । यस कालमा मेरा जतिपनि भक्तले मेरो शयनका भावना अनुभव गरी मेरो सेवा गर्नेछन तथा शयन र उत्पादनको उत्सव आनन्दपूर्वक आयोजित गर्नेछन तिनको घरमा तिमीसमेत म निवास गर्नेछु । भगवान विष्णुलाई चार महिनाको योग–निद्राबाट जगाउनका लागि घण्टा,शंख,मृदंग आदि वाद्यका मांगलिक ध्वनिका बीच यी श्लोक पढेर जगाउछन् ।

उत्तिष्ठोत्तिष्ठगोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत् सुप्तमिदं भवेत् ।।
उत्तिष्ठोत्तिष्ठ वाराह दंष्ट्रोद्धृत–वसुन्धरे ।
हिरण्याक्षप्राणघातिन्त्रैलोक्येमङ्गलम्कुरु ।।

श्रीहरिलाई जगाए पछि उनको षोडशोपचार विधिले पूजा गर्नुपर्छ । अनेक प्रकारका फलका साथै नैवेद्य (भोग) निवेदित गर्नुपर्छ । संभव भए उपवास गर्नुपर्छ अन्यथा केवल एक समय फलाहार ग्रहण गर्नुपर्छ । यस एकादशीमा रातभरि जागेर हरि नाम संकीर्तन गर्नाले भगवान विष्णु अत्यन्त प्रसन्न हुने गर्नुहुन्छ ।

विवाहादि समस्त मांगलिक कार्यको शुभारम्भमा भगवान विष्णुलाई साक्षी राखेर संकल्प गर्ने चलन रहेकोछ । अतएव चतुर्मासमा प्रभावित रहने माङ्गलिक कार्यको प्रतिबंध हरिप्रवोधिनी (देवोत्थान) एकादशीका दिन समाप्त हुन्छ त्यसैले आजकै दिनबाट विवाहादि शुभ कार्य पुनःप्रारम्भ हुन्छन् । पद्मपुराणको उत्तरखण्डमा वर्णित एकादशी–माहात्म्यका अनुसार श्रीहरि प्रबोधिनी (देवोत्थान) एकादशीको व्रत लिनाले एक हजार अश्वमेध यज्ञ तथा सय राजसूय यज्ञको फल प्राप्त हुन्छ । यस परम पुण्यप्रदा एकादशीको विधिवत लिएको व्रतले सबै पाप भस्म हुन्छ तथा व्रत लिने व्यक्ति मरणोपरान्त वैकुण्ठ पुग्छ ।

यस एकादशीका दिन भक्तले श्रद्धाका साथ जे जस्तो जप–तप, स्नान–दान, होमादि गर्छन, ती सबै अक्षय फलदायक हुन पुग्छन् । देवोत्थान एकादशीका दिन व्रतोत्सव गर्नु प्रत्येक सनातनधर्मीको आध्यात्मिक कर्तव्य हो । यस एकादशीका दिन तुलसी विवाहोत्सव पाणि मनाउने चलन रहेकोछ ।

यसै सन्दर्भमा कथा के छ भने जालन्धर नामक असुरकी पत्नी वृंदा पतिव्रता स्त्री थिई,उसलाई आशीर्वाद प्राप्त थियो कि जबसम्म उसका पतिव्रता व्रत भंग हुदैन तबसम्म उसको पति जीवित रहने छ । जलंधर पत्नीको पतिव्रतको प्रभावले विष्णुसित धेरै वर्षसम्म युद्धरत रह्यो तर पराजित भएन, अनि भगवान विष्णुले जालान्धरको वेश धारण गरी वृंदाका कक्षमा प्रवेश गरे तर उनलाई वृन्दाले चिन्न सकिनन र उनको पतिव्रत भंग भयो ।

वृंदाको पतिव्रत भंग भएपछि जलंधर मारियो । विष्णुले वृन्दासित छद्मवेशद्वारा छल गरेको जब सत्य कुरो चाल पाईन, तिनले विष्णुलाई श्राप दिईन् । वृन्दाको श्रापबाट विष्णु पत्थर भए र उनी शालिग्रामका रूपमा परिवर्तित भए । विष्णुले आफूले गरेको गल्तीलाई स्वीकार गरे र त्यसै बेला त्यहां प्रकट भएर वृन्दासित भने तिम्रो शरीर गंडकी नदीका रूपमा रहने छ तथा केश तुलसीका रूपमा पूजित हुनेछ । तिमी सदैव मेरा शिरमा शोभायमान रहने छौ एवं लक्ष्मीसरह मेरा निम्ति प्रिय रहने छौ, तिमीलाई हरिप्रिया नामले पनि चिनिने छ । त्यसदिनदेखि के मान्यता रहेकोछ भने कार्तिक शुक्ल एकादशीका दिन भगवान शालिग्राम र तुलसीको विवाह गराउनाले कन्यादानको फल प्राप्त हुन्छ र व्यक्तिलाई विष्णु भगवानसरह प्रसन्नता प्राप्त हुन्छ ।

चार महिना अघि अर्थात आषाढ शुक्ल एकादशीको दिनमा आ–आफ्नो घरमा रोपिएको तुलसीलाई हरिबोधनी एकादशीको दिनमा मठ सिंगारेर विशेष पूजा गरि विष्णु भगवानका अर्का रुप पिपलसँग विवाह गरिदिने परम्परा पनि रहि आएको छ । भोलीपल्ट द्वादशीको दिन तुलसीको पूजनसँगै चर्तुमास भरि विष्णुको प्रतिकको रुपमा पूजा गरिएको तुलसीको बिसर्जन गरिन्छ ।

हरिबोधनी एकादशीको दिनमा नेपालका विभिन्न धार्मिक स्थलहरुमा मेला लाग्ने गर्छ । यस दिन सुनसरीको बराह क्षेत्र र काठमाडौंको बूढानिलकण्ठ लगाएत उपत्यकाका चार दिशामा रहेका चार नारायण मन्दिर चाँगुनारायण, विशङ्खुनारायण, इचङ्गुनारयण र शेष नारायणमा विशेष मेला लाग्छन् ।

ज्यो.दुर्गा भण्डारी ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, कार्तिक २९, २०८१