अर्थ समितिका काम प्रभावकारी बनाउन छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२६ कार्तिक २०८१, सोमबार ०६:३६

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिका काम प्रभावकारी र नतिजामुखी ढङ्गले सञ्चालन गर्न छलफल भएको छ ।

समितिको  बैठकमा कार्यसूची बनाउने र सदस्यहरुको सहभागिता बढाउने विषयमा छलफल भएको सभापति सन्तोष चालिसेले जानकारी दिए । समितिमा विचाराधिन विधेयकलाई चाँडो टुङ्ग्याउने तथा समितिका अन्य काम कारबाहीलाई प्रभावकारी बनाउन सदस्यहरुको बैठकमा उपस्थिति बढाउनेबारे पनि छलफल भएको उनको भनाइ छ ।

“संसदीय समितिका बैठकहरुमा गणपूरक सङ्ख्या (कोरम) नपुग्ने समस्या छ । कोरम नपु¥याइ छलफल र निर्णयहरु गर्न नियमले मान्दैन”, बैठकमा उनले भने, “सभामुखले पनि यस विषयमा चासो देखाउनु भएको छ । समितिका बैठक बोलाउँदा सबै दलका प्रमुख सचेतक तथा सचेतकहरुलाई जानकारी गराउने र सदस्यहरुको उपस्थिति बढाउने विषयमा पनि छलफल भएको छ ।”

समितिको बैठकमा सांसद सूर्यबहादुर थापा क्षेत्रीले समितिका काम प्रभावकारी बनाउन कार्यतालिका बनाएर कडाईका साथ लागू गरिनुपर्ने बताए । समितिमा गणपूरक संख्या नपुगेर विधेयक माथिका छलफल प्रभावित हुन नहुने उनको भनाई थियो ।

त्यस्तै, सांसद जुली कुमारी महतो (महासेठ)ले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनका सन्दर्भमा सम्बन्धित मन्त्रालयहरुलाई समितिमा बोलाएर जानकारी लिनुपर्ने बताइन् ।

अर्थ समितिमा अहिले पाँचवटा विधेयक विचाराधिन छन् । ती विधेयकमाथि चाँडो छलफल गरेर टुङ्गाउनुपर्ने धारणा समितिका अधिकांश सदस्यहरुको मत छ ।

चाडबाडहरु सकिएको र अहिले संसदको हिउँदे अधिवेशन समेत सुरु नभएको अवस्थामा समितिका गतिविधिहरु बढ्नुपर्ने विषय समितिमा उठेको थियो । त्यस्तै, आगामी मङ्सिर १६ गतेका लागि तय भएको उपनिर्वाचन अघि समितिका बैठक प्रभावित हुनसक्ने धारणा सांसदहरुको थियो ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, मंसिर ९, २०८१