ट्रम्पले जितेका दिन संसारका १० धनाढ्यको सम्पत्ति ६४ अर्ब बढ्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२३ कार्तिक २०८१, शुक्रबार ०६:४५

काठमाडौं । बुधबार डोनाल्ड ट्रम्प दोस्रोपटक अमेरिकाका राष्ट्रपति चुनिए। यो जितको दिन ट्रम्पका लागि त विशेष थियो नै, संसारका धनाढ्यहरूका लागि पनि सुखद बन्यो।

ब्लुमबर्गको बिलेनियर इन्डेक्सका अनुसार ट्रम्पको जितसँगै यो दिन विश्वकै सबभन्दा धनी दस जना व्यक्तिहरूको सम्पत्ति पनि रेकर्ड स्तरमा बढेको छ।

उनीहरूको बढेको सम्पत्ति सामूहिक रूपमा ६४ अर्ब अमेरिकी डलर छ।
ब्लुमबर्गका अनुसार सन् २०१२ मा दैनिक रूपमा कमाइको रेकर्ड राख्न थालेयता यो हालसम्मकै सबभन्दा ठूलो दैनिक वृद्धि हो।

सबभन्दा धेरै फाइदा इलन मस्कलाई भएको छ। हाल विश्वकै सबभन्दा धनी व्यक्ति समेत रहेका मस्क ट्रम्पका सबैभन्दा मुखर र समर्पित समर्थकहरूमध्ये एक हुन्।

ब्लुमबर्गका अनुसार बुधबार मस्कको सम्पत्ति २६.५ अर्ब डलरले बढेर २९० अर्ब डलर पुग्यो।

त्यस्तै अमेजनका संस्थापक तथा संसारका दोस्रा धनी जेफ बेजोसको सम्पत्ति ७.१ अर्ब डलरले बढेको थियो। अनलाइन बजार अमेजनका संस्थापक बेजोसको वासिङटन पोस्टमा समेत लगानी छ। वासिङटन पोस्टले कमला ह्यारिसलाई समर्थन नगर्ने निर्णय गरेको थियो। तर गत साता बेजोसले यो निर्णयको बचाउ गरेका थिए।

ट्रम्पका अर्का समर्थक तथा ओरेकलका सह-संस्थापक ल्यारी एलिसनको सम्पत्ति बुधबार ५.५ अर्ब डलर बढेको थियो।

यसैगरी ट्रम्पको जितबाट फाइदा उठाउन सफल धनाढ्यहरू माइक्रोसफ्टका पूर्वकार्यकारी बिल गेट्स र स्टिभ बाल्मर, गुगलका पूर्वकार्यकारी ल्यारी पेज र सेर्गेइ ब्रिन, र बर्कशायर ह्याथवेका सिइओ वारेन बफेट पनि छन्। यीमध्ये कसैले पनि यो वर्ष राष्ट्रपतिका कुनै उम्मेदवारलाई समर्थन गरेका छैनन्। पहिलेका चुनावमा भने उनीहरूले डेमोक्र्याटिक उम्मेदवारहरू र उसकै मुद्दाहरूको पक्षमा बोल्दै आएका थिए।

बुधबार दस धनाढ्यमध्ये मार्क जकरवर्ग र बर्नार्ड आर्नोको सम्पत्तिमा भने खास भिन्नता आएको थिएन।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१