आत्मीयता र पुनर्मिलनको पर्व ‘भाइटीका’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ कार्तिक २०८१, शनिबार ०६:२२

फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रुपमा लिइने तिहार अर्थात् भाइटीका दिदीभाइ, दाजुबहिनीबीचको आत्मीयता, स्नेह र पुनर्मिलन गराउने पर्वका रुपमा लिइन्छ ।

टाढा भएका दिदीभाइ, दाजुबहिनीलाई नजिक बनाउने, उनीहरुबीचको सम्बन्ध प्रगाढ बनाउने पर्व उत्साह र उमङ्गका साथ भाइटीका मनाइन्छ । साहित्य श्रष्टा दानस मल्ल भाइटीकाको अवसरमा दिदीलाई समर्पण गरेर आफ्ना सिर्जनालाई यसरी पोख्छन्,

सयपत्री र मखमली, घरको दायाँबायाँ ।
पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।।

यी माथि व्यक्त गरिएका साहित्य हरफले तिहार पर्वमा गलामा सयपत्री, मखमली फूलको माला र दिदीको न्यानो स्नेह, ममता पाउँदाको भाव र ती क्षणलाई सम्झदै उनले आफ्ना शब्दमार्फत दर्शाउन खोजेका छन

तिम्रै साथमा रहन पाऊँ, बनी तिम्रो छाया ।
पवित्र होस् सधैँभरि, दिदीभाइको माया ।।

तिहार पर्वले दिदीभाइ र दाजुबिहिनीबीचको सम्बन्ध अझै पवित्र प्रगाढ स्नेही र पुनर्मिलन गराउनमा महत्वपूर्ण भूमिका खेलेको उनको बुझाइ छ ।

‘दाजुभाइ पनि आफ्नो कार्यव्यस्तताले जहाँ रहे पनि वर्ष दिनमा एक पटक आउने चाड तिहारमा जस्तोसुकै काम भए पनि थाती राखेर दिदीबहिनीसँग पुनर्मिलन हुन पुग्ने गर्दछन्’, उनले भने, ‘मलाई सबैभन्दा बढी मनपर्ने चाड तिहार हो, यस पर्वले सबैलाई उमङ्ग, उज्यालो र आत्मीयता बढाएको हुन्छ ।’

निधारमा सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलले सजिएका ती गला, दिदीबहिनीको माया, स्नेह र आशीर्वाद लिने पर्व भाइटीकाले सबै उमेर समूहमा उत्तिकै आत्मीयता र महत्व राख्दछ । साहित्यकार मित्रलाल गौतम कवितामार्फत भाइटीकालाई यसरी व्यक्त गर्छन्,

बल्छन् बत्तीहरु झिलीमिली गरी सबैका घर ।
दुःखी हुन् अथवा गरिब पनि सुखी देखिने तर ।।

आफ्ना जो घरका दिदी र बहिनी छन् जसका जहाँ जति ।
आशीर्वाद लिनेदिने समयको मौका मिलेको कति ।।

सबका घरमा बलेका ती झिलीमिली बत्तीले को धनीको गरिब छुट्याउँदैनन्, धनी गरिब सबैलाई समानरुपमा जोड्ने पर्व तिहार अर्थात् भाइटीकालाई लिनुहुन्छ, साहित्यकार गौतम । उनका कविताले दिदीभाइ, दाजुबहिनीले एकापसमा भाइटीका ग्रहण गरी आशीर्वाद दिने र लिने एक महत्वपूर्ण अवसर, उत्सवका रुपमा लिने गरेको गौतम बताउछन् ।

“अन्य पर्वका तुलनामा यो पर्वले फरक भूमिका खेलेको छ, दाजुभाइ दिदीबहिनीले एकले अर्कोलाई गर्ने माया प्रेम, हेरचाह, प्रेमिल सम्बन्धलाई फराकिलो बनाएको पाइन्छ, दिदीभाइ, दाजुबहिनीबीचको माया, प्रेम, आशीर्वाद लिने र दिने गर्दा अझ बढी तिहारको महत्व बढेको पाइन्छ”, उनले भने ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, मंसिर ६, २०८१