ध्वनि प्रदूषण नियन्त्रण गर्न गोकर्णेश्वर नगरपालिकाको अभियान, सूचना दिनेलाइ ५ हजार पुरस्कार

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ कार्तिक २०८१, मंगलवार ०६:११

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले ध्वनि प्रदूषण नियन्त्रण गर्न अभियान सुरु गरेको छ । मोटरसाइकलमा ठुलो आवाज निकालेर कुद्ने चालकहरूको भिडिओ खिचेर पठाएमा ५ हजार रुपैयाँ पुरस्कार दिइने भएको छ ।

नगरप्रमुख दीपक कुमार रिसालले जारी गरेको सूचनामा साइलेन्सर मोडिफाई गरेर ठुलो आवाज निकाल्ने मोटरसाइकल चालकहरूको भिडिओ ह्वाट्सएपमार्फत पठाउन प्रोत्साहन गरिएको छ ।

 

सूचना पाएपछि ठुलो आवाजमा मोटरसाइकल चलाउने चालकलाई कारबाही गरिने छ । जरिवाना तिराइने छ । जो कसैले पनि सवारी नम्बर र फोटोसहित ९८५१२९६३१२ मा सूचना पठाएर पुरस्कार जित्न सक्नेछन् । नगरपालिकाले यस्तो कदम चाल्नुको मुख्य कारण वातावरणीय प्रदूषण र शान्त जीवनयापनमा असर पुगेको बताएको छ । जानकारी दिने व्यक्तिको नाम गोप्य राखिने छ । सूचना दिनेको नाम गोप्य राख्ने प्रावधानले यस अभियानमा सर्वसाधारणको सहभागिता बढ्ने विश्वास लिएको मेयर दिपक रिसालले बताएका छन् ।

त्यस्तै, गोकर्णेश्वर नगरपालिकाले नजिकिदै गरेको तिहारलाई मध्यनजर गर्दै पटका तथा बारुदजन्य पदार्थ विक्रिवितरण एवं प्रयोगमा निषेध गरेको छ । मेयर रिसालले जारी गरेको सार्वजनिक सूचनामा भनिएको छ, ‘तिहारको अवसरमा पटका तथा बारुदजन्य पदार्थ पड्काउदा वा प्रयोग गर्दा आगजनी, धनजनको क्षति र बालबालिकाको स्वास्थ्यमा प्रतिकुल असर पर्न सक्ने भएकाले नगरपालिका क्षेत्रभित्र पटका तथा बारुदजन्य पदार्थ खरिद, विक्रिमा रोक लगाइएको छ ।’

सूचना विपरित प्रयोग भएको पाइएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, कार्तिक ६, २०८१