दुलही बनेर भित्रिएकी निङमाको हत्या भएको दाबी, श्रीमान प्रहरी हिरासतमा

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३० आश्विन २०८१, बुधबार ०६:३९

उदयपुर ।  उदयपुरको लिमचुङबुङ गाउँपालिका-३ बाराहा पिप्लेकी २० वर्षीया निङमा याङजी शेर्पा आत्महत्या प्रकरण शंकास्पद देखिएको छ। चार महिनाअघि मात्र नयाँ दुलहीको रूपमा भित्रिएकी शेर्पा आइतबार घरभित्रै मृत भेटिएकी छन्।

दसैं टीकाको भोलिपल्ट राति घरमै डोरीको पासो लगाएर आत्महत्या गरेको भनिए पनि निङमाको माइती पक्षले भने हत्या गरेको दाबी गरेको छ। निङमा घाँटीको डोरी फुकाएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ। घाँटीको डोरी फुकाएको भेटिएकाले निङमाले आत्महत्या नभई हत्या भएको भन्दै बुबा गञ्जु शेर्पाले निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाहीको माग गर्दै किटानीसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन्।

दसैं टीकाको दिन माइती-ससुराली आएका छोरी-ज्वाइँलाई भोलिपल्ट घरसम्म पुर्‍याउन लगेको बताउँदै शेर्पाले सोही रात छोरीले आत्महत्या गर्नुपर्ने कुनै कारण नभएको दाबी गरेका छन्। शेर्पाले भने, ‘राम्रोसँग घर पुर्‍याएकी मेरी छोरीले आत्महत्या गर्नुपर्ने कुनै कारण थिएन। झुण्डिएको भए घाँटीमा डोरी छैन्। ज्वाइँ र परिवार मिलेर मारेको हो।’
छोरीको हत्या नै भएको भन्दै शेर्पाले आत्महत्या दुरुत्साहनको जाहेरी प्रहरीमा दिएका छन्। उता श्रीमान क्षेत्र भुजेलले भने झुण्डिएको देखेर बचाउन सकिन्छ कि भनेर हतार हतार डोरी काटेर खुस्काइदिएको बताएका छन्। श्रीमती कोठामा झुण्डिएको देखेर बचाउन सकिन्छ कि भनेर डोरी काटेर खाटमा राखेको तर, त्यसबेलासम्म निङमाको प्राण गइसकेको क्षेत्रले प्रहरीसँग बयान दिएका छन्। वडाध्यक्ष गुरुमणि कुमाईले घटना घटेको हो तर, हत्या हो वा आत्महत्या भन्ने कुरा प्रहरी अनुसन्धान र पोष्टमार्टम रिपोर्टबाट मात्र भन्न सकिने बताए।

उनले दुबै पक्षबीचको अघात मायाप्रेमबाटै शेर्पा र भुजेलको बिहे सामाजिक परम्पराअनुसार गत जेठ १० गते भएको बताए। वैदेशिक रोजगारीबाट फर्केका क्षेत्र र निङमाबीच अहिले पनि प्रेम घटेको थिएन। तर, पछिल्लो समय क्षेत्र घर नबस्ने, गाउँतिर बढी घुम्न जाने, तास खेल्ने, कहिलेकाहीँ त बास बस्न घरै नआउने गरेपछि निङमाले उनलाई सँगै बस्न नसक्ने चेतावनी दिँदै माफी मगाएको वडाध्यक्ष कुमाईले सुनाए।

मृतकको शव मंगलबार जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईले घट्नाबारे अनुसन्धान सुरु भइसकेको तर, पोष्टमार्टम रिपोर्ट नआएसम्म यसै हो भन्न नसकिने बताए। माइती पक्षको जाहेरीका आधारमा नियन्त्रणमा लिइएका मृतकका श्रीमान क्षेत्र भुजेललाई हिरासतमा राखेर अनुसन्धान कार्य अघि बढाइएको डीएसपी चापागाईँले बताए।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१