छतमा यात्रु बोक्नेलाई २० हजारसम्म जरिवाना

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२२ आश्विन २०८१, मंगलवार ०५:२२

धादिङ । जोखिमपूर्ण तरिकाले निर्वाध रुपमा यात्रु ओसारपसार गर्ने रातो नम्बर प्लेटका सवारीसाधनलाई जिल्ला प्रशासन कार्यालय धादिङले धमाधम कारबाही गरेको छ ।

यात्रु बोक्ने अनुमति नभएको सवारीसाधनले छतमा खचाखच यात्रु बोक्नेक्रम बढ्दै गएपछि स्थानीय प्रशासनले कारबाहीलाई कडाइ गरेको हो । खाद्यान्न तथा अन्य सामानले भरिभराउ भएका जिपमा जोखिमपूर्ण ढङ्गले यात्रु चढाएर सदरमुकामबाट ग्रामीण भेगतर्फ जाँदै गरेका र ग्रामीण भेगबाट सदरमुकाम आउँदै गरेका जिपलाई बीच बाटोमै रोकेर २० हजारसम्म जरिवाना गराइएको छ ।

पटकपटक सचेत गराउँदा पनि अटेर गरेकाले ती सवारीसाधनलाई कारबाही गर्नुपरेको धादिङका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले बताए ।

प्रमुख जिल्ला अधिकारी घिमिरेका अनुसार यातायात व्यवसायी, सवारी चालक र सरोकारवाला निकायका प्रतिनिधिलाई राखेर सवारी सञ्चालनका विषयमा पटकपटक जानकारी गराउँदा पनि कुनै सुधार नदेखिएपछि गलत ढङ्गबाट चलिरहेका रातो नम्बर प्लेटका बोलेरो जिपहरु कारबाहीमा परेका हुन् ।

केही दिनयता प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षकसमेत फिल्डमा खटिएर बजार तथा यातायात अनुगमनलाई तीव्र पारेको छ । अनुगमन टोलीले उपभोक्ताको हितविपरीत देखिएका सबै गतिविधिको निरीक्षण गरी कारबाही गर्दै आएको छ ।

सदरमुकाम धादिङबेंसीबाट ज्वालामुखी गाउँपालिकाको मैदीतर्फ जाँदै गरेको दुई जिपलाई २०/२० हजार जरिवाना गरिएको छ । क्षमताभन्दा धेरै यात्रु चढाएर असुरक्षित यात्रा गराएको भन्दै प्रदेश ३–०१–०२४ च ६८३९ र ग २ च ९०५३ नम्बरको बोलेरो जिपलाई नियन्त्रणमा लिइ जरिवाना तिराएर छोडिएको अनुगमन टोलीका सदस्य एवं उद्योग वाणिज्य कार्यालय धादिङका प्रमुख चूडामणि पुरीले जानकारी दिए ।

चालकसहित पाँच जना चढ्न मिल्ने सिट भएको जिपमा २० जनाभन्दा बढी यात्रु चढाएको भेटिएपछि ती जिपलाई नियन्त्रणमा लिएर कारबाही गरिएको उनले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज २२, २०८१