आईफोन १६ किन नकिन्ने ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
६ आश्विन २०८१, आईतवार ०५:५३

काठमाडौं । एप्पलले हरेक वर्ष आईफोनको नयाँ सिरिज ल्याउने गर्छ । यस वर्ष आईफोन १६ सिरिज सार्वजनिक भइसकेको छ । एप्पलको दाबी अनुसार १६ सिरिजमा अहिलेसम्मकै उत्कृष्ट आईफोन मोडेल छन् । यसमा आधुनिक प्रविधि तथा नवीन विशेषता थपिएको कम्पनीको भनाइ छ ।

तर आईफोन १६ राम्रो हुँदा हुँदै यसमा केही महत्त्वपूर्ण समस्या पनि छन्, जसलाई बेवास्ता गर्न सकिन्न । अनि यही कुरा नै आईफोन १६ किन नकिन्ने प्रश्नको जवाफ भएको छ । आज हामी तिनै कुराबारे चर्चा गर्ने छौं:

१. अत्यधिक महङ्गो

हालैको एक रिपोर्ट अनुसार आईफोन १६ प्रो किन्न औसत नेपालीले १० महिना बढी काम गर्नुपर्छ । यसबाटै थाहा हुन्छ कि आईफोन कति महँगो छ ।

हुन त एप्पलका सबै उत्पादन महँगो नै हुने गर्छन् । आईफोन १६ एप्पलको अहिलेसम्मको सबैभन्दा महँगो स्मार्टफोन हो । यसको आधारभूत मोडेलको मूल्य नै धेरै छ । अनि चाहेर पनि सबै प्रकारका प्रयोगकर्ताले यसलाई खरिद गर्न सक्दैनन् ।

नेपाल जस्तो बजारमा यसको मूल्य अझ बढी हुने निश्चित छ । कर र भन्सार शुल्कले नेपालसम्म आइपुग्दा लागत बढिहाल्छ । बजारमा उपलब्ध अन्य राम्रा फोनको तुलनामा आईफोन १६ एकदमै महँगो छ ।

२. ब्याट्रीको समस्या

आईफोन प्रयोगकर्ताहरूको सधैंको गुनासो ब्याट्रीमा हुन्छ । यस कुराबाट आईफोन १६ पनि अछुतो छैन । हालै मात्र आईफोन १६ को आधारभूत मोडेलमा जम्मा ३५६१ एमएएच क्षमताको ब्याट्री हुने खबर बाहिरिएको छ । जुन अत्यन्त कम हो ।

अहिलेका सामान्य एन्ड्रोइड स्मार्टफोनमा कम्तीमा पनि ५००० एमएएच क्षमताको ब्याट्री पाइन्छ । आईफोन लन्च इभेन्टमा कम्पनीले ब्याट्रीबारे केही कुरा उल्लेख नगर्नाले पनि यसमा कमजोरी रहेको बुझ्न सकिन्छ ।

प्रोसेसर शक्तिशाली हुँदा र बढी काम हुँदा फोनले ऊर्जा खपत पनि त्यही अनुसार गर्छ । फलस्वरुप फोनको ब्याट्री चाँडै सकिन्छ । त्यसमाथि आईफोनको चार्जिङ टाइम पनि बढी नै छ । गेमिङ, भिडिओ एडिटिङ वा ग्राफिक्ससम्बन्धी काम गर्दा यो समस्या अझ गम्भीर बन्न सक्छ ।

३. ओभरहिटिङ

आईफोन चाँडै तातिने कुरा सामान्य जस्तै लाग्ने गरेको छ । चाहे सामाजिक सञ्जालका एप चलाउँदा होस्, गेम खेल्दा वा फोटो खिच्दा आईफोन अलि चाँडै तात्छ । यसले फोनलाई लामो समयसम्म असर गर्न सक्छ । बारम्बार तातिरहँदा फोन चलाउन पनि असहज हुन्छ । यसका कारण अनेकन् हुन सक्छन् । तर मुख्यत: प्रोसेसरले धेरै ऊर्जा खपत गर्दा फोन आवश्यकता भन्दा बढी तात्न पुग्छ ।

४. ६० हर्जको डिस्प्ले

यसपटक पनि एप्पलले डिस्प्लेको रिफ्रेस रेट सुधार्न खासै काम गरेको देखिएन । आईफोन १६ र १६ प्लसमा ६० हर्जको डिस्प्ले दिइएको छ । यसले गर्दा फोन चलाउँदा राम्रो अनुभव प्राप्त हुँदैन । सस्ता एन्ड्रोइड फोनमा ९० हर्जसम्मको रिफ्रेस रेट पाउँदा महँगो आईफोनमा ६० हर्ज रिफ्रेस रेट दिइनु कति न्यायोचित हो, सोच्ने जिम्मा तपाईँकै !

५. पुरानै डिजाइन र अनुभव

आईफोन १६ सार्वजनिक भएपछि यसको डिजाइनलाई लिएर विभिन्न मिमहरू बनेका छन् । सायद ती तपाईंले देखिसक्नु भएको होला । नयाँ फिचर थपिए पनि तिनले आईफोन १६ लाई पुराना मोडेलभन्दा भिन्न बनाउन सकेको छैन । भन्न त एप्पलले उत्कृष्ट डिजाइन भनेर दाबी गरेको छ । तर धेरैले केही खास नवीनता नभएको प्रतिक्रिया दिएका छन् । यसबाट पनि डिजाइन र अनुभव पुरानै हुने बुझ्न सकिन्छ ।

६. क्यामेरा

एप्पलले क्यामराकै लागि भनेर आईफोन १६ मा नयाँ एक्सन बटन ल्याएको छ । प्रो मोडेलहरूमा सुधार भएको छ । तर आईफोन १६ को बेस मोडेलमा क्यामेरा राम्रो छैन । अलि सस्तो भएकाले धेरैले आधारभूत मोडेल किन्ने गर्छन्, तर यसको क्यामेरा सुधार गर्न एप्पलले त्यति जाँगर चलाएन ।

अर्कोतर्फ आईफोन १६ को प्रतिस्पर्धी ब्रान्ड सामसङ वा गुगल पिक्सेलको तुलनामा पनि क्यामेरा औसत देखिन्छ । विशेषगरी प्रकाश कम भएका ठाउँमा खिचिएका फोटोहरूको गुणस्तर सन्तोषजनक नभएको प्रतिक्रिया आइरहेका छन् । सामान्य प्रयोगमा क्यामेरा राम्रो भए पनि यसमा ठूलो परिवर्तन हुन्छ भनेर अपेक्षा गर्नेहरूका लागि निराशाजनक पक्ष हो ।

७. कम उपयोगी फिचर

आईफोन १६ मा एप्पलले अनेकन् फिचर थपेकोमा शंका छैन । तर समस्या के छ भने ती फिचरहरू दैनिक जीवनमा खासै प्रयोग नहुने सम्भावना छ । एप्पलले प्रोमो भिडिओमा देखाएका केही फिचर साधारण प्रयोगकर्ताका लागि खास नहुने अनुमान गर्न सकिन्छ ।

उदाहरणका लागि आईफोन १६ को प्रो मोडेलमा एप्पलले एक्स्ट्रिम जुमको फिचर दिएको छ । तर, दैनिक जीवनमा यो फिचर धेरै प्रयोगकर्ताका लागि उपयोगी हुँदैन । उपयोगी नभएपछि त्यसको के अर्थ ! यसले महँगो आईफोन १६ को मूल्यको औचित्य पुष्टि गर्न गाह्रो समेत बनाउँछ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, अशोज ६, २०८१