दुई महिनामा सरकारले गर्‍यो ७ प्रतिशत बजेट खर्च

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ आश्विन २०८१, बुधबार ०५:५८

काठमाडौं। चालु आर्थिक वर्ष २०८१-८२ को सुरुवाती दुई महिनामा सरकारको बजेट खर्च करिब साढे ७ प्रतिशत देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत भदौ मसान्तसम्ममा कुल विनियोजनको सात दशमलव ३९ प्रतिशत अर्थात् एक खर्ब ३७ अर्ब ५५ करोड २७ लाख बराबर बजेट खर्च भएको हो ।

चालु आर्थिक वर्षका लागि सरकारले कुल १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख बराबरको बजेट ल्याएको थियो । यो अवधिमा चालुतर्फ सात दशमलव २८ प्रतिशत अर्थात् ८२ अर्ब ९८ करोड ६५ लाख बराबर खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड ४५ लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो ।

पुँजीगत शीर्षकमा तीन खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर बजेट विनियोजन भएकोमा चार दशमलव २३ प्रतिशत अर्थात् १४ अर्ब ८९ करोड ४० लाख बराबर खर्च भएको छ । वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ६७ अर्ब २८ करोड ४५ लाख विनियोजन भएकोमा १० दशमलव आठ प्रतिशत अर्थात् ३९ अर्ब ६७ करोड २२ लाख रुपैयाँ बराबर खर्च भएको छ ।

यही अवधिमा सरकारले वार्षिक लक्ष्यको ११ दशमलव ५२ प्रतिशत राजस्व असुली गरेको छ । चालु आर्थिक वर्षका लागि कुल १४ खर्ब ७१ अर्ब ६२ करोड ९५ लाख बराबर राजस्व उठाउने लक्ष्य राखेकोमा भदौ मसान्तसम्ममा एक खर्ब ६९ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ बराबर सङ्कलन भएको छ ।

यो अवधिमा सङ्कलित राजस्वमध्ये कर राजस्वतर्फ वार्षिक लक्ष्यको ११ दशमलव ३१ प्रतिशत अर्थात् एक खर्ब ४५ अर्ब १९ लाख ३३ हजार रुपैयाँ असुली भएको छ । कर राजस्वतर्फ सरकारले कुल १२ खर्ब ८४ अर्ब २० करोड ९६ लाख रुपैयाँ बराबर उठाउने वार्षिक लक्ष्य राखेको छ ।

NepatopDAV
गैरकर राजस्वतर्फ एक खर्ब ३५ अर्ब ९ करोड ३४ लाख बराबर वार्षिक लक्ष्य राखिएकोमा १५ दशमलव ६९ प्रतिशत अर्थात् २१ अर्ब १९ करोड ४३ लाख बराबर सङ्कलन भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले ५२ अर्ब ३२ करोड ६५ लाख बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य राखेकोमा हालसम्म वैदेशिक अनुदान उठाउन सकेको छैन ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१