हिस्सेदारी माग्न आउँदिन भन्दै काँग्रेस-एमालेलाई ‘प्रचण्ड’को सन्देश

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१२ भाद्र २०८१, बुधबार ०५:५४

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तामा हिस्सेदारी माग्न काँग्रेस र एमाले नेताहरूसमक्ष नजाने बताएका छन् ।

मंगलबार संसदमा विशेष समय लिएर बोलेका माओवादी अध्यक्ष ‘प्रचण्ड’ले आफूहरू झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन नआउन दुबै दलका नेताहरूलाई चुनौती दिएका छन् । उनले भने, ‘काँग्रेस-एमालेका साथीहरूलाई म यही रोष्ट्रमबाट सम्बोधन गर्दछु, ‘प्रचण्ड’ अब सत्ताको खेलमा लाग्नेछैन, तपाईंहरुकहाँ सत्तामा हिस्सेदारी माग्न आउनेछैन ।’

माओवादी पार्टीभन्दा पनि सीमान्त वर्ग, वर्ण, लिंग र क्षेत्रको आन्दोलन भएको उनले बताए । उनले अगाडि भने, ‘म यही संसदबाटै स्वीकार गर्छु, यसबीचमा कमजोरीहरू भए । जनतासँग संवादका कमजोरी भए, व्यवहारका कमजोरी भए । वर्गीय पक्षधरताका कमजोरी भए ।’

आफूहरूको यही कमजोरीमा खेलेर काँग्रेस र एमाले सीमान्तहरूका प्राप्त अधिकार खोस्न चलमलाउन थालेको उनको दाबी छ । तर अब माओवादीको ध्यान सत्तामा नभएर षड्यन्त्रको प्रतिरोधमा रहेको उनले बताए ।

‘आन्दोलनको पुनर्गठनमा छ । त्यही पुनर्गठनका बलमा भोलि माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने तहको पार्टी बनाउनेछौँ’, प्रचण्डले चेतावनीको भाषामा भने, ‘पहिला पनि बनाएका हौँ, अब पनि बनाउने छौँ ।’

उनले अगाडि भने, ‘ त्यतिबेलासम्म कृपया तपाईँहरू मिलिदिनुहोला । बीचैमा झगडा गरेर ‘लौ न प्रचण्डजी’ भन्दै फकाउन र फुर्क्याउन नआइदिनुहोला ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१