पार्टी फुट्ने त्रासमा माधव नेपाल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० भाद्र २०८१, सोमबार ०५:५७

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् । आज (आइतबार) पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादी टुक्राउन र चोइट्याउन षड्यन्त्र भइरहेको बताएका हुन् । ‘अहिले फेरि अर्का षड्यन्त्र चलिरहेको छ, हाम्रो पार्टीलाई टुक्रयाउने षड्यन्त्र, हाम्रो पार्टीलाई चोइट्याउने षड्यन्त्र,’– उनले भने ।

साथै, अहिले एकीकृत समाजवादी परित्याग गरेर गएकाहरुको मात्रै चर्चा गरिएको र एकीकृत समाजवादीमा आएकाहरुको बारेमा बेवास्ता गरिएको उनले बताए । ‘यहाँ सन्दर्भ आउने गर्छ, केही मान्छेहरु गए । गएको कुरा गर्छौं, आएको कुरा किन गर्दैनौं हामी ? संख्या चाहियो कति हजार मान्छे आए यो तीन महिनाभित्र ?’ उनले प्रश्न गरे ।

अरु पार्टी परित्याग गरेका केही मानिसहरुले अहिले पनि ‘हाम्रो गाउँमा आउनुस्, हामी पाँच हजार मान्छेहरुको बीचमा सात सय जनालाई पार्टी प्रवेश गराउँछौं’ भनिरहेको उनले दाबी गरे । अध्यक्ष नेपालले नेता तथा कार्यकर्ताहरुलाई निराश नहुनसमेत आग्रह गरे ।

उनले अहिलेको अवस्थामा एकीकृत समाजवादी र माओवादीसँग पनि एकता नहुने बताए । वामपन्थी शक्तिहरु एकतावद्ध भएर अगाडि जानुपर्छ भन्ने आफ्नो सोच भएपनि अहिले नै कुनै दलसँग एकता नहुने बताए ।

अहिले राष्ट्रिय राजनीतिले नयाँ मोड लिएको बताउँदै उनले कहाँ जान्छ र के हुन्छ भन्ने कुरा सबैको जिज्ञासा रहेको उनले बताए । वर्तमान सरकार राम्रो उद्देश्यले नबनेको उनको दाबी छ । उनले आफूहरुको सहभागिताविना संविधान संशोधन सम्भव नै नरहेको बताए ।

बेपत्ता पारिएका व्यक्तिहरुको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन संशोधन गर्ने बनेको विधेयक टुङ्ग्याउने क्रममा आफूलाई सहभागी नगराइएको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१