आङ साङ सुकी नेपाल आउने

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
१० बैशाख २०७१, बुधबार ०३:४१

काठमाण्डौ, वैशाख । म्यानमारकी प्रजातन्त्रवादी नेत्री आङसाङ सुकी आगामी जेठ ३१ गते नेपाल भ्रमणमा आउन लागेकी छन् । बीपी कोइरालाको शतवार्षिकी कार्यक्रममा प्रमुख वक्ताका रूपमा उनी यहाँ आउन लागेकी हुन् । नोबेल शान्ति पुरस्कार विजेता सुकीले बीपीको सिद्धान्त र अहिलेको दक्षिण तथा पूर्वी एसियाली मुलुकको राजनीतिबारे प्रवचन दिने समाचार अन्नपूर्ण पोस्ट दैनिकले प्रकिशत गरेको छ ।
नेपाल सरकारले विशेष निमन्त्रणा गरेको एक महिनापछि उनले आफ्नो नेपाल भ्रमण निश्चित भएको जानकारी गराएकी हुन् । प्रधानमन्त्री सुशील कोइराला अध्यक्ष रहेको बीपी कोइराला मेमोरियल ट्रस्ट र हरिबोल भट्टराई अध्यक्ष रहेको बीपी चिन्तन प्रतिष्ठानको संयुक्त निमन्त्रणामा उनी तीनदिने भ्रमणमा आउन लागेकी हुन् ।aung_san_suu_kyi-214x300
उनको भ्रमणको सबै बन्दोबस्त सरकारले गर्नेछ । उनले संविधानसभामा प्रजातन्त्रको महत्त्वबारे प्रवचन दिने प्रजातन्त्रका लागि आफूले गरेको संघर्ष सुनाउनेछिन् । प्रधानमन्त्रीका परराष्ट्रमामिला सल्लाहकार दिनेश भट्टराईले सुकी आउने निश्चित भएको बताए । उनको भ्रमणका लागि सुरक्षा अवस्था सुदृढ गर्न प्रधानमन्त्री कार्यालयबाट छुट्टै परिपत्र भएको छ ।
सुकीले राष्ट्रपति डा. रामवरण यादव,उपराष्ट्रपति परमानन्द झा,प्रधानमन्त्री कोइराला,प्रधानन्यायाधीश दामोदरप्रसाद शर्मा,सभामुख सुवासचन्द्र नेम्बाङ,राजनीतिक दलका शीर्ष नेताहरू,प्रधानसेनापति गौरवशमशेर राणालगायतलाई भेट्ने कार्यक्रम छ । उनी लुम्बिनी पनि जानेछिन् । यहाँ उनले ध्यान गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रतिक्रिया