अन्योलमा प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८१, बुधबार ०६:४२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमणमा अन्योल देखिएको छ । भदौ १८ र १९ गते थाइल्याण्डमा छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनको आयोजना गर्ने तयारी थियो । प्रधानमन्त्री जाने भनिएको यो बैठक नै अन्योलमा देखिएको हो ।

थाइल्याण्डको प्रधानमन्त्री हेरफेर, बंगलादेशको आन्तरिक विवाद, म्यानमारमा आन्तरिक द्वन्द्व, श्रीलंकामा प्रधानमन्त्रीको चुनावलगायतका विषय लिएर बिमस्टेक सम्मेलनमा असर पर्ने देखिएको छ । मुख्य आयोजक देश थाइल्याण्डमा चार दिन अगाडि प्रधानमन्त्री परिवर्तन भएको छ ।

थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनलाई त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते पदमुक्त गरेको थियो । उनको स्थानमा पेतोङत्रान सिनावात्रा प्रधानमन्त्रीमा नियुक्त भएकी छन् । उनी प्रधानमन्त्रीमा नियुक्त भएपछि बिमस्टेक बैठकको बारेमा कस्तो नीति लिने भनेर अझै स्पष्ट भएको छैन ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार थाइल्याण्डमा हुने भनिएको बिमस्टेक बैठक नै अहिलसम्म टुङ्गो लागेको छैन । यसले प्रधानमन्त्री ओलीको थाइल्याण्ड जाने कार्यतालिका प्रभावित बनेको छ ।

बिमस्टेक सम्मेलन हुने अब दुई हप्ता मात्र बाँकी छ । तर त्यसको तयारी केही देखिएको छैन ।

यता प्रधानमन्त्री ओली जाने कुरा भइसकेपछि त्यसको आन्तरिक तयारी पनि चलिरहेको थियो । तर थाइल्याण्डको राजनीतिक परिवर्तन तथा अन्य सदस्य राष्ट्रहरूमा देखिएको विवादका कारण बिमस्टेक प्रभावित हुने देखिएको छ ।

थाइल्याण्डमा साउन १७ गते सम्मेलनको एउटा तयारी बैठक बसेको थियो । त्यसपछि यता कुनै बैठक बसेको छैन । साउन ७ गते बिमस्टेकको विदेश मन्त्रीस्तरीय बैठक भारतमा बसेको थियो ।

सो बेठकमा थाइल्याण्डका विदेश मन्त्री मारिस संगियाम्पोङसाले बैंककमा हुने शिखर सम्मेलन सफल बनाउन सबैमा आग्रह गरेका थिए । सम्मेलनको तयारी तिब्र रुपमा चलिरहेको थियो । थाइल्याण्डका प्रधानमन्त्री हेरफेरलेृ तयारी प्रभावित भएको छ ।

यता, बंगलादेशका प्रधानमन्त्री शेखहसिनाले राजीनामा दिएपछि अन्तरिम सरकारको प्रधानमन्त्रीमा मोहम्मत युनुस नियुक्त भएका छन् । त्यहाँको राजनीतिक अवस्था अझै सामान्य भएको छैन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग युनुसको राम्रो सम्बन्ध छैन । त्यसकारणले पनि बंगलादेशका प्रधानमन्त्री युनुस बिमस्टेक सम्मेलनमा भाग नलिने आशङ्काहरू भइरहेका छन् ।

श्रीलंकामा सेप्टेम्बर २१ मा प्रधानमन्त्रीको चुनाव छ । त्यसअघि हुने बिमस्टेक सम्मेलनमा उच्च स्तरीय सहभागिता हुनेमा आशङ्का व्यक्त गरिएको छ । उता म्यानमारको द्वन्द्व समाधान भएको छैन अहिले आएर बाढीले तबाही मच्चाएको छ । लाखौँ जनता त्यसबाट प्रभावित भएका छन् । यी सब विषयले बिमस्टेक सम्मेलन प्रभावित हुने आशङ्का गरिएको छ ।

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण थाइल्यान्डबाट सुरु हुने भनिएको थियो । उनी थाइल्याण्ड नगएपछि भारत भ्रमणमा जाने सम्भावना बढेको बताइएको छ ।

प्रधानमन्त्री ओलीको भारत भ्रमण भदौभित्रै हुने सम्भावना बढेको छ । भारत भ्रमणबाट आएपछि उनी अमेरिकामा हुने संयुक्त राष्ट्र संघको महासभामा भाग लिन जाने छन् । असोज १० गते महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१