परराष्ट्रमन्त्रीको भारत भ्रमण ऊर्जामा सहकार्य र भारतीय, सहयोगका कार्यक्रमबारे छलफल

mukunda500.dhungana@gmail.com' rastriyakhabar
५ भाद्र २०८१, बुधबार ०६:०४

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा भारत भ्रमणमा रहेका बेला नेपाल र भारतबीच ऊर्जा सहकार्य र भारतीय विकास सहयोगका कार्यक्रमबारे छलफल भएको नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले बताएको छ ।

परराष्ट्रमन्त्री राणा भारतीय समकक्षी एस जयशंकरको निमन्त्रणामा भदौ २ देखि ६ गतेसम्म भारतको औपचारिक भ्रमणमा छिन् । सोमवार उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटघाट र छलफल गरेकी छन् । भारतीय प्रधानमन्त्री मोदीसँगको भेटमा आपसी हितका विविध क्षेत्रमा नेपाल–भारत सहकार्यलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको राजदूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

भारतीय परराष्ट्रमन्त्रीसँगको भेटमा नेपालले अब करीब हजार मेगावाट विद्युत् निर्यात गर्न सक्ने र यसले नेपालका लागि आम्दानी र भारतका लागि स्वच्छ ऊर्जाका थप स्रोतको सृजना गर्नेबारे चर्चा भएको थियो । साथै दुवै पक्षले ऊर्जा सहकार्यको क्षेत्रमा पारस्परिक लाभदायी साझेदारीमा भएको प्रगतिबारे कुरा गरेका थिए । यस सम्बन्धमा दुवै परराष्ट्रमन्त्रीले दीर्घकालीन ऊर्जा व्यापार सम्झौताको कार्यान्वयनका कारण ऊर्जा सहकार्यको क्षेत्रमा उपलब्ध अभूतपूर्व अवसरका बारेमा छलफल गरेको दूतावासले जानकारी दिएको छ ।

गतवर्ष भएको सम्झौताअनुसार भारतले १० वर्षमा १० हजार मेगावाट बिजुली नेपालबाट किन्ने बताएको छ । बैठकमा विभिन्न द्विपक्षीय पहल र विकास परियोजनामा भएको प्रगतिको समीक्षा गर्नुका साथै पारस्परिक लाभदायी सहकार्यका विद्यमान र नयाँ क्षेत्रमा थप सहयोगका अवसरबारे पनि छलफल भएको बताइएको छ । ‘हालैका वर्षहरूमा भारतको सहयोगमा नेपालमा सञ्चालित परियोजनाहरूले गति प्राप्त गरेका छन्,’ दूतावासले भनेको छ, ‘जुन विशेष गरी पूर्वाधार, अन्तरदेशीय रेलमार्ग, सडक र पुलसँग सम्बद्ध अन्य परियोजना, एकीकृत जाँच चौकी, पेट्रोलियम पाइपलाइन र डिजिटल वित्तीय कनेक्टिभिटी लगायत कनेक्टिभिटीका क्षेत्र जस्तै : भौतिक, डिजिटल साथसाथै जनता–जनताबीचको सम्बन्धमा प्रकट भएको छ ।’ भेटका क्रममा नेपाल र भारतबीच सहकार्यको अर्को क्षेत्रका रूपमा खेलकुद उदाइरहेको उल्लेख गर्दै नेपाली क्रिकेट टोलीका लागि हालै बैंगलुरुस्थित नेशनल क्रिकेट एकेडेमीमा व्यवस्था गरिएको प्रशिक्षण कार्यक्रमको नेपालले सराहना गरेको दूतावासले बताएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१