‘स्कुलमा साथीले जिस्काए भन्दै’ आत्महत्या

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ कार्तिक २०७१, शुक्रबार १८:१३

 

भक्तपुर,२८ कार्तिक । साथीहरुले जिस्क्याएको सहन नसकेपछि १५ वर्षीय एक छात्रले झुण्डिएर आत्महत्या गरेका छन् ।
भक्तपुरको बालकोट गाविसस्थित माउन्ट भ्यू इङ्गलिस बोर्डिङ्ग स्कुलको कक्षा नौ अध्ययनरत मध्यपुर थिमी नपा १७ गठ्ठाघर बस्ने अनुप ध्वोंजूले बिहीबार साँझ आत्महत्या गरेका हुन् ।

घरको भान्छा कोठाको सिलिङ्गको हुकमा नाइनलको डोरीको पासो लगाएर आत्महत्या गरेको अवस्थामा अनुप भेटिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त ठिमीका प्रमुख नायब प्रहरी उपरीक्षक भीमकिरण बोगटीले भान्छा कोठामा झुण्डिएको अवस्थामा फेला परेका उनलाई तत्काल गठ्ठाघरस्थित नागरिक अस्पताल पुर्‍याइएकोमा अस्पतालका चिकित्सकहरुले मृत घोषणा गरेको जानकारी दिए ।

नायब प्रहरी उपरीक्षक बोगटीका अनुसार अनुपले आत्महत्या गर्नुअघि साथीहरुले होच्याउने गरेको र आफ्नो थरको विषयलाई लिएर अपशब्द बोल्ने तथा हेंला गर्ने गरेको भन्दै सुसाइड नोट लेखेर छाडेका छन् ।

छोराले सुसाइड नोट लेखर आत्महत्या गरेपछि त्यसको अनुसन्धान गर्न भनी उनका बाबु पुस्कर ध्वोंजुले शुक्रबार वृत्तमा जोहरी दिएका छन् । ‘मृतकका बाबुले जोहरी दिएकोले सुसाइड नोटको आधारमा थप अनुसन्धान अघि बढाएका छौं’, नायब उपरीक्षक बोगटीले भने ।

उता स्कुलका प्रिन्सिपल राजकुमार महर्जनले बिहीबार नियमित जस्तो स्कुलबाट घर गएका अनुपले आत्महत्या गरेको खबर पाएपछि छानाबाट खसेजस्तो भएको बताए ।

उनले पढाइमा सामान्य रहेका अनुप सानो कुरालाई पनि ठूलो सोच्ने र साथीहरुले जिस्काए पनि त्यसलाई गम्भीरतापूर्वक लिने खालको विद्यार्थी भएको जानकारी दिए ।

‘त्यसैले अनुपको कक्षाका सबै विद्यार्थीहरुलाई नियमित सचेत गर्दै आएका थियौं’, प्रिन्सिपल महर्जनले भने, ‘अनुपलाई पनि मनो परामर्श दिँदै आएका थियौं तर बिहीबार यस्ता अप्रिय घटना हुन पुग्यो ।’

प्याव्सन भक्तपुरका अध्यक्षसमेत रहेका महर्जनले अनुपको घटनाले विद्यालय र शिक्षकहरुको भरमा मात्र अब विद्यार्थीहरुको भविष्य सुरक्षित छैन भन्ने पाठ सिकाएको प्रतिक्रिया दिए ।

‘विद्यार्थीहरुप्रति अभिभावकहरु गम्भीर नहुने हो भने अरु अनुपहरुले पनि यस्तै बाटो रोज्नेछन्’, उनले भने । अनुपका बुबा रोजगारी गर्छन् भने आमा घरमै पसल सञ्चालन गर्छिन् । अनुप पुस्करका जेठो छोरा हुन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, कार्तिक ७, २०८१