गर्मीमा यसरी गर्नुस् कपालको हेरचाह

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२९ श्रावण २०८१, मंगलवार ०६:४१

गर्मीको मौसममा छालाको साथसाथै कपाललाई पनि विशेष हेरचाहको आवश्यकता पर्दछ । चर्को घामले पसिना धेरै आउँछ । टाउकोको छाला पसिनाले भिजिरहेको हुन्छ । कपालको जरा कमजोर बन्दछन् । कपाल फुस्रो र सुख्खा हुन्छ र झर्न पनि थाल्छ ।

चायाँ आउने अनि कपाल झर्ने समस्या निकै बढ्छ । पसिनाले टाउकोको छाला भिजिरहँदा टाउको चिलाउने समस्या हुन्छ । बारम्बार कन्याइरहँदा समस्या बिग्रँदै जान्छ र कपाल झर्न थाल्छ । गर्मीको कडा घामले हाम्रो कपाललाई जलाइदिन्छ । त्यसैले यो मौसममा छालालाई जस्तै कपालको पनि विशेष ख्याल राख्नुपर्ने हुन्छ

गर्मीमा कपालको हेरचाह गर्ने उत्तम उपाय

उच्च आर्द्रता र अधिक गर्मीले कपालको स्वास्थ्यलाई प्रभावित गर्दछ । अत्यधिक आर्द्रताका कारण कपाल तन्किन्छ भने अत्यधिक गर्मी र घामका कारण कपाल कडा र फुङ्ग देखिन थाल्छ । गर्मीको मौसममा समेत कपाललाई स्वस्थ, चम्किलो र सुन्दर बनाउन यसलाई नियमित रूपमा धुनु र राम्ररी सुकाउनु अति आवश्यक छ । यसले गर्मीमा आर्द्रताका कारण कपाललाई हुने क्षतिलाई कम गर्छ ।

दैनिक कपाल धुनु हुन्न

गर्मीको बेलामा टाउकोमा अत्यधिक पसिना आउँदा चायाँको समस्या बढ्न सक्छ । यसका कारण टाउकोको छाला पोल्ने, चिलाउने, बिबिरा आउने आदि हुन सक्छ । यस्तोमा केही मान्छे दिनदिनै टाउको नुहाउँछन् । तर यो ठिक होइन । दिनहुँ टाउको नुहाउँदा कपालको प्राकृतिक तेल हराउँछ । त्यसैले नुहाउने नै भए पनि एक दिन बिराएर मात्रै नुहाउनु पर्छ ।

कन्डिशनिङको प्रयोग

यो मौसममा हरेक पटक टाउको नुहाउँदा कपालमा स्याम्पुको साथमा कन्डिसनर प्रयोग गर्नु राम्रो हुन्छ । स्याम्पुका कारण कपाललाई हुने कुनै पनि क्षतिलाई कम गर्न प्रोटिन बेस्ड कन्डिसनर प्रयोग गर्नुस् । तर प्रोटिन प्रोटिन धेरै भएको कन्डिसनरले पनि कपाललाई नोक्सान पुर्याउँछ । हप्तामा एक पटक कपाललाई डीप कन्डिसनिङ गर्नुस् ।

काइयोले धेरैबेर कपाल कोर्नु हुन्न

काइयोले धेरै बेर कोरिरहँदा पनि कपाललाई नोक्सान हुन्छ । गर्मीमा कपाललाई बारम्बार कोरिरहँदा कपालको आर्द्रता घट्छ । नुहाइसकेपछि कपालका लट्टा फोर्न पनि फाइबर काइयोको प्रयोग गर्नुस् ।

१५ दिनमा एक पटक हेयर स्पा

हेयर स्पा गर्दा कपालको डीप कन्डिसनिङ हुन्छ । यसका साथै कपालमा आर्द्रताको समस्या पनि कम हुन्छ । यसो गर्दा कपालको चमक लामो समयसम्म कायम रहन्छ ।

स्वस्थ आहार

कपाललाई बाक्लो, जरादेखि बलियो र स्वस्थ राख्न खानामा प्रोटिन र भिटामिनको अनिवार्य समावेश गर्नुपर्छ । दैनिक भोजनमा भिटामिन सी, आइरन, जिंक, ओमेगा–३ फ्याटी एसिडहरू सही मात्रामा खानु पर्दछ ।

टाउकोको मालिश

कपालमा लगाउने तेलले टाउकोमा मालिस गर्दा कपालमा सकारात्मक प्रभाव पर्दछ । औँलाले टाउकोमा मालिस गर्दा रक्तसञ्चार बढ्छ, जसले कपाललाई आवश्यक पोषण पाउँछ ।

कपालमा लट्टा

गर्मीको मौसममा कपाल झन् धेरै लट्टा पर्छ । हावामा हुने आर्द्रताको कारण यस्तो हुन्छ । यस्तोमा सिलिकन सीरम वा प्राकृतिक हेयर मास्क कपालको लागि उपयोगी साबित हुन सक्छ । कडा घामका कारण पनि कपालको चमक गुम्न सक्छ । कपाल दरो हुन्छ । घाममा घरबाहिर निस्कँदा टाउकोलाई सुती कपडाले छोप्नुस् । स्विमिङ पुलमा नुहाउन जाँदा पुलको पानीमा हुने क्लोरिनले कपाललाई हानी पुर्याउन सक्छ । स्विमिङ पुलमा नुहाउँदा स्विमिङ क्याप लगाउनुस् । कपाल आश्चर्यजनक रूपमा खुइलिँदै गएको छ भने तुरुन्तै विशेषज्ञसँग परामर्श लिनुस् ।

केमिकलयुक्त प्रडक्टको कम प्रयोग

कपालको स्टाइलका लागि प्रयोग गरिने स्प्रे र अन्य रसायनले कपाललाई हानी गर्छ । कपाललाई स्टाइलिस देखाउन घरमै बनाएको हेयर प्याक वा मास्क लगाउनुस् । प्राकृतिक भएकोले यसले कपाललाई हानी गर्दैनन् ।एजेन्सी

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१