काठमाडौं । सशस्त्र संघर्ष र जनआन्दोलनको रापतापबाट खारिएर आएका पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला आफ्नै सहयात्रीबाट खतरामा छन् । प्रचण्डको उत्तराधिकारी बन्ने होडमा उपमहासचिवद्वय जनार्दन शर्मा र वर्षमान पुन मस्त छन् । पार्टीमा उपमहासचिवद्वय शर्मा र पुनको दुई लाइन संघर्ष प्रष्ट देखिएको छ । उपमहासचिव शर्माले पार्टी स्थायी समिति बैठकमा १४ पृष्ठ लामो लिखित प्रस्ताव पेश गरेका छन् । उनले पेश गरेको दस्तावेजले अध्यक्ष प्रचण्डको कमीकमजोरी र माओवादीको वर्तमान अवस्थालाई छताछुल्ल पारेको छ ।
२०६४ सालको आम निर्वाचनमा १२० प्रत्यक्ष गरी कूल २२९ सिट जितेको माओवादी अहिले ३२ सिटमा सीमित छ । संसदीय निर्वाचन प्रणालीमा आएपछि माओावादी निरन्तर ओरालो यात्रामा छ, माओवादीको जनाधार खस्कँदो छ । २०६४ को निर्वाचनमा समानुपातिकतर्फ ३१ लाख मत पाएको माओवादी २०७९ को आम निर्वाचनमा ११ लाखमा खुम्चिसकेको छ । १५ वर्षकोे अन्तरालमा माओवादीले २० लाख मतदाताबाट विश्वास गुमाइसकेको छ ।
उपमहासचिव शर्माले पार्टीको साँघुरिदै जानुको मूल कारण जनता नभएर माओवादीले नै उठाएका नारा, दिएका आश्वासन रहेको दाबी गरेका छन् । शर्माले माओवादीले उठाएको नारा र आश्वसन माओावदी आफैं सरकारमा हुँदा पूरा गर्न नसकेको टिप्पणी गरेका छन् ।
शान्ति प्रक्रियामा आए यता तौरतरिका युद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क, च्यानलहरु सही नभएको र माओवादीको बसाई उठाई, रहनसहन राजामहाराजाको जस्तो भएको उनको आरोप छ । उनले यस्तो गतिविधि जनताले मन नपराएको उल्लेख गरेका छन् ।
उपमहासचिव शर्माले पार्टी नेतृत्वले खेलेको ऐतिहासिक भूमिका र जनताको योगदानबाट प्राप्त उपलब्धीमाथि नै प्रश्न उठ्न थालेको उल्लेख गरेका छन् । उनले माओवादी र नेतृत्वप्रति विश्वास गरेर जनयुद्ध, जनआन्दोलनमा लागेका वर्गको दैनिक जीवनका समस्या समाधान गर्न नसक्ने अवस्थामा रहेको अवस्थालाई पनि दस्तावेजमा स्थान दिएका छन् ।
उनले अहिले माओवादी योजनाविहीन र संगठनविहीन अवस्थामा रहेको अजस्थालाई उजागर गरेका छन् । माओवादीसँग आजको दिनमा संविधानबाहेक देखाउने केही अर्को उपलब्धी नै नरहेको, माओवादीको एजेण्डाहरु दिनानुदिन खोसिँदै गएको र माओवादीलाई माया गर्ने वर्ग, जाति र समुदाय माओवादीकै निर्णय र व्यवहारले टाढिएको विषयलाई उनले जोडतोडका साथ उठाएका छन् ।
‘माओवादी पार्टी योजनाविहीन र संगठनविहीन बन्न पुग्यो । आज हामीसँग संविधानको अलवा न जनाधार छ, न संगठन छ । केही सीमित उपलब्धी बाहेक न कुनै देखाउन लायक कामहरु छन् । न हाम्रो कुनै मौलिक विकासको मोडेल छ । हाम्रो एजेण्डाहरु खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रो व्यवहार र निर्णयले टाढिएको छ,’– उनले दस्तावेजमा भनेका छन् ।
उपमहासचिव शर्माले अध्यक्ष प्रचण्ड संरक्षक र हालका पदाधिकारीहरु सल्लाहकारको भूमिका रहेर पार्टीको नेतृत्व तेस्रो पुस्तामा हस्तान्तरण गरिनुपर्ने प्रस्तावसमेत अगागि सारेका छन् । पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहनको मान्यतामा रही नेतृत्व हस्तान्तरण हुनुपर्ने भन्दै शर्माले तीन वटा उपाय सुझाएका छन् ।
सांगठनिक क्षेत्रको भूमिका प्रचण्डले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने, प्रचण्डले संरक्षक र हालका पदाधिकारीहरु सल्लाहकारको भूमिकामा रही तेस्रो पु्स्तालाई हस्तान्तरण गर्ने वा केन्द्रीय कमिटी भङ्ग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन उनले विकल्प प्रस्तुत गरेका छन् ।
उपमहासचिव शर्माले पार्टी अध्यक्ष प्रचण्डबाटै आफूविरुद्ध पार्टी विभाजनको हल्ला चलाईएकोसमेत खुलासा गरेका छन् । ‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरु गरिएको प्रचारबाजीलाई बालुवाटार पुगेपछि तिव्रता दिईयो । उक्त प्रचारबाजीलाई मद्दत पुग्नेगरि पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिरउन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो । देशभर यसको असर देखा पर्न थाल्यो । फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ,’– उनले स्थायी कमिटी बैठकमा पेश गरेको दस्तावेजमा भनिएको छ ।
स–साना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सिर्जना गरिदिनुपर्छ भन्ने अध्यक्ष प्रचण्डको मान्यता रहेको उनले टिप्पणी गरेका छन् । पार्टी उपमहासचिवको भूमिकामा रहेका शर्मा सबैभन्दा बढी अवसर पाउने नेतामध्येमा पर्छन् । उनले पटक–पटक मन्त्री बन्ने अवसर पाइसकेका छन् । गृह, अर्थ, उर्जालगायतका महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी उनले सम्हालिसकेका छन् । प्रचण्डविरुद्ध विष वमन गरेका उपमहासचिव शर्माले आफू पटक–पटक मन्त्री हुँदा उनले ती वर्गको बारेमा सोच्न भने भ्याएका छैनन् ।
त्यस्तै, अर्का उपमहासचिव पुन चुपचाप देखिन्छन् । प्रचण्डको उत्तराधिकारी हुँ भन्नेमा पुनमा कन्फिडेन्स देखिन्छ । कूटनीतिमा निकै चतुर देखिने पुन अहिले प्रचण्ड र जनार्दनको आन्तरिक द्वन्द्व नजिकबाट नियालिरहेका छन् । उनी पनि माओवादीमा अवसर पाउनेमध्ये एक नेता हुन् । पटक–पटक अवसर पाएर पनि आफ्ना सहयोद्धा र वर्गको पक्षमा माखो मार्न नसकेका पुनले प्रचण्डको विरोध पनि गरेका छैनन् । यद्यपि, उनले अर्का उपमहासचिव शर्मालाई आफ्नो प्रतिस्पर्धीको रुपमा भने हेरिरहेका छन् । शर्मा र पुनबीच महासचिवमा विवाद हुँदा उछिट्टिएको भाग देव गुरुङले पाएका थिए ।
अर्का उपमहासचिव हरिबोल गजुरेलको पनि प्रचण्डप्रति व्यापक असन्तुष्टि छ । पार्टी पदाधिकारी बैठकमा उनले उनले पदाधिकारीहरुलाई सामूहिक राजीनामाको लागि आह्वानसमेत गरेका थिए । बैठकमा गजुरेलले छ बुँदे फरक मत राखेका थिए । उनले आफ्नो छ बुँदे फरक मत पढेर सुनाएका थिए । सो क्रममा पदाधिकारीहरुले पार्टीलाई प्रभावकारी रुपमा सञ्चालन गर्न नसकेको बताउँदै नैतिक जिम्मेवारी लिँदै सामूहिक राजीनामाको आह्वान गरेका थिए ।
‘पदाधिकारीहरुले नैतिक जिम्मेवारी लिएर सामूहिक राजीनामा दिउँ । अरु साथीहरु तयार हुनुहुन्न भने म चाहीँ राजीनामा दिनका लागि अध्यक्षसँग अनुमति माग्छु,’– उनले भनेका थिए ।
उपमहासचिव गजुरेल प्रचण्ड प्रधानमन्त्री भएको बेला प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त भए । तर, उनले बीचमै राजीनामा दिएर बाहिरिए । प्रचण्ड नेतृत्वको सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा सोचेअनुरुप काम गर्न नसकेको उनको आरोप थियो ।
शान्ति प्रक्रियापछि लगातार सत्तामा रजाइँ गरेको माओवादी अन्ततः खिइँदै गएको छ । यसबीचमा प्रचण्डले भन्दा बढी अवसर जनार्दन, वर्षमान, हरिबोललगायतले पाए । खिइँदै गएको माओवादीको अपजस अन्ततः सबैले प्रचण्डको काँधमा हालिदिएका छन् । नेतृत्व छाड्नुपर्ने व्यापक दवाबमा रहेका प्रचण्डले भने यतिबेला वृहत वामपन्थी एकताको प्रस्ताव अगाडि सारिरहेका छन् । वामपन्थी एकताका लागि माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपा र महिन्द्र राय यादव नेतृत्वको नेसपासँग प्रचण्डले गृहकार्य अगाडि बढाइसकेका छन् । पार्टीभित्रका आन्तरिक कलह भुसको आगोझैं सल्किइरहेको बेला प्रचण्डको वामपन्थी एकता स्वप्निल नारामै सीमित हुने निश्चित छ ।
प्रतिक्रिया