नुवाकोटको भद्रुटारका दर्जनौँ घरपरिवार बाढी र पहिरोको जोखिममा, सयौँ रोपनी धानखेतमा बाढी पस्यो

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१७ श्रावण २०८१, बिहीबार ०५:५३

काठमाडौँ । निरन्तरको वर्षाका कारण नुवाकोटको पञ्चकन्या गाउँपालिका–५ स्थित भद्रुटारमा बाढी र पहिराले लाखौँको क्षति गरेको छ ।

वर्षासँगै स्थानीय खहरे खोलामा आएको बाढीका कारण त्यस क्षेत्रका एक दर्जनभन्दा पनि घरपरिवार जोखिममा परेका छन् भने सयौँ रोपनी धान खेत कटानको जोखिममा छ । त्यसैगरी बढीसँगै आएको पाँगो र गेग्र्यान माटो धान खेतमा थुप्रिएको छ ।

खोलाले खेतीयोग्य जमिन कटान गर्नुका साथै आसपासका घर जोखिममा परेको र स्थानीय निरन्तर जोखिममा बस्नुपरेको प्रभावित पुरुषोत्तम सिटौलाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निरन्तरको वर्षासँगै आएको बाढीका कारण यहाँका दर्जनौँ घरपरिवार जोखिममा परेका छन् । यहाँको कैयौँ खेतीयोग्य जमिनमा कटानमा परेको छ भने केही दिनअघि रोपाइँ सम्पन्न गरेको धान खेतमा गेग्र्यान थुप्रिएको छ ।”

उहाँका आफ्नोसँगै स्थानीय मिलन तामाङ, रामहरि खतिवडा, एकप्रसाद खतिवडा, पुरुषोत्तम खतिवडा, गायत्री खतिवडा, बद्री खतिवडा, कुलबहादुर तामाङ, गोकर्ण पौडेललगायत पहिरो र कटानको खोजीममा परेका छन् । उनीहरू खेतमा बाढी पसेको छ भने घर वरपरको जमिन कटान हुँदा जोखिम बढेको छ ।

“बाढी र पहिराले निम्त्याएको जोखिम र क्षतिबारे स्थानीय सरकारलाई जानकारी गराएका छौँ । वडाध्यक्षले प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको छ”, स्थानीय सिटौलाले भन्नुभयो, “खेतमा पानी लैजाने पक्की कुलो सबै खोलाले बगाएको छ । त्यतिमात्र होइन बस्ती नै जोखिमा रहेको छ ।”

बस्तीमाथि हिउँदमा अन्धाधुन्ध ‘डोजर’ प्रयोग गरेर बाटो सडक खन्ने र राम्रोसँग तारजाली नबनाउने गरेका कारण तटीय क्षेत्रका बस्ती जोखिममा परेको प्रभावित बद्रीनाथ खतिवडाले बताउनुभयो । उहाँका अनुसार स्थानीय ठाउँठाउँमा पहिराको जोखिम छ ।

उक्त क्षेत्रमा जनताले खोला नियन्त्रण एवं पहिरो र बाढीबाट प्रभावितलाई राहत उपलब्ध गराउनुपर्नेमा माग गरेका छन् । यहाँका स्थानीयले बस्तीमाथि सडक एवं पूर्वाधार निर्माण गर्दा तटीय क्षेत्रको जोखिमलाई ध्यान नदिएको भन्दै विरोध गरेका छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

मङ्लबार, अशोज १, २०८१