को हुन् लोकप्रिय कथावाचिका देवी प्रतिभा ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१६ श्रावण २०८१, बुधबार ०६:१५

काठमाडौँ।  यतिबेला पशुपतिनाथ परिसरमा ‘श्री पशुपति कोटिहोम १०८ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ चलिरहेको छ । कोटिहोमबाट सुनिएको प्रवचनको ध्वनी, कोटिहोमकै लागि पशुपतिको साजसज्जाको, दर्शकको ठेलमठेल माहोलले पशुपतिमा अन्य वर्षको साउन महिनाभन्दा बेग्लै रौनक छाएको छ । पशुपतिमा शिवको दर्शनभन्दा कोटिहोमका लागि मानिसहरु भिड ओइरिएको छ । यद्यपि पशुपति परिसरको कोटिहोमा वाचन भइरहेको श्रीमद्भागवत, कथा र कथा सुन्न उपस्थित दर्शकको भिडभन्दा पनि अहिले २३ वर्षीया कथावाचिका देवी प्रतिभा अर्थात् प्रतिभा पराजुलीको चर्चा बढी छ ।

कथा प्रवचनकै लागि उनी भारतको वृन्दावनबाट नेपाल आएकी हुन् । कोटिहोममा उनले प्रस्तुत गर्दै आएकी कथावाचन र भजनभन्दा पनि अङ्गरक्षक (बडीगार्ड)को जम्बो टोलीसहित उपस्थिति जनाएकी देवी प्रतिभाको शैलीलाई आम जनमानसले आश्चर्य प्रकट गरिरहेका छन् । उनको सुरक्षाका लागि खटिएका एक दर्जन बडीगार्ड टोलीको घेराबन्दीमा नै उनी कोटिहोम परिसरमा कथा वाचनका लागि पुग्छिन् ।

देवी प्रतिभाको बडीगार्डको टोलीलाई हेर्दा कुनै दक्षिण भारतीय फिल्मका खलनायकहरुको झलक दिने भन्दै धेरैले आलोचना गरेको पनि पाइएको छ । देवी प्रतिभाको सुरक्षार्थ खटिएका बडीगार्डको टोली कोटिहोम मात्र नभएर उनको उपस्थिति हुने हर क्षेत्रमा निकै सजक र सतर्कताका साथ उभिन्छन् । देवी प्रतिभाको शैलीलाई लिएर कतिपय मानिसहरुले नेपाली छोरी, नेपालको गौरव भनेर उच्च प्रशंसा गरेका छन् भने कतिपयले आफ्नै मातृभूमिमा आउँदा पनि किन यत्रो सुरक्षा फौज ? धर्म र मानवताका कथा भन्न उभिएकी उनलाई समाज र आम मानिसदेखि किन भय छ ? के उनी नेपालदेखि डराएकी हुन् र ? भन्ने लगायतका प्रश्नहरु आम मानिसले उठान गरिरहेका छन् ।

खासमा कथावाचनकै समयमा समेत वरीपरी सुरक्षाघेरामा बस्ने उनको शैलीलाई आम मानिसले आलोचना गरिरहेका छन् । उनका अनुसार उक्त सुरक्षाका लागि खटिएका टोली भिडभाडलाई सन्तुलन र व्यवस्थापन गर्नका लागि मात्र हुन् । यसमा उनको संस्था ‘राष्ट्रसेवा परिवार’ र भारत सरकारबाट नै उपलब्ध गराइएका सुरक्षा गार्डहरु सहभागी छन् । काठमाडौँमै बसोबास गरिरहेका परिवारसँग भेटघाटका लागि नेपाल आइरहेपनि कथा वाचनकै लागि उनी नेपालमा भने सात वर्षपछि आएकी हुन् ।

नेपालकै चेली भएर पनि नेपाली जनतालाई धर्मको भ्रम फिँजाएर आर्थिक सङ्कलन गरी भारतलाई फाइदा पुर्‍याइरहेको उनलाई आरोप समेत लगाइएको छ । कोटिहोममा कथा वाचनसँगै यतिबेला उनलाई नेपाली विभिन्न सञ्चारमाध्यमहरुमा समेत आफ्नो धर्म, कर्म र जीवनबारे धारणा राख्न भ्याइनभ्याइ छ । नेपाली मूलकी भएपनि लामो समयदेखि भारतको वृन्दावनमा बस्दै आएकी उनले विश्वभर नै कथावाचिकाका रुपमा प्रसिद्धि कमाएकी छिन् । भनिए अनुसार उनको कथा वाचनकै लागि कुनै धार्मिक संघसंस्थाले एक दुई वर्षअघि देखि नै उनको समय बुक गराउनुपर्छ । भारतका सबैजसो प्रान्तमा उनका कथा वाचन लोकप्रिय छन् । उनका अनुसार सन् २०२६ सम्मका लागि भारतमा कथा वाचनका लागि उनको समय तय भइसकेको छ ।

भारतका कथावाचिकाहरुमध्ये उनी तेस्रो नम्बरमा पर्छिन् । भारतमा हिन्दी भाषामा नै प्रवचन दिने उनले कोटिहोममा भने नेपाली भाषामा नै प्रवचन दिइरहेकी छिन् । नेपाली भाषामा केही हिन्दी शब्द र लवजमा सुनिने उनको कथावाचनमा अहिले विभिन्न स्थानबाट आएका सयौं मानिसहरु मन्त्रमुग्ध छन् । १० दिनका लागि नेपाल आएकी उनी शनिबार नै भारत प्रस्थान गर्ने योजना थियो । तथापि कोटिहोममा थप दुई दिन समय थपेर उनी सोमबारसम्म नेपालमै रहनेछिन् । कोटिहोम व्यवस्थापन समितिका अनुसार उनले १३ र १४ गते बिहानी सत्रमा रामकथा प्रवचन गर्ने कार्यक्रम तय गरिएको छ ।

देवी प्रतिभा काभ्रेपलाञ्चोक जिल्लाको मण्डन देउपुरमा जन्मिएकी हुन् । तीन दिदीबहिनी एक भाइ सहित चार सन्तानमध्ये उनी माइली छोरी हुन् । उनको खास नाम भने प्रतिभा पराजुली हो । ब्राम्हण परिवारमा जन्मिएकी उनी सानैदेखि हजुरबुवा पण्डित भरतमणी पराजुलीको धार्मिक आस्था र आराधनाबाट प्रभावित थिइन् । भरतमणी कर्मकाण्डी गर्ने ब्राम्हण थिए । श्रीमद्भागवत कथा वाचन सत्सङ्गहरुमा गइरहने हजुरबुवाको सिको उनले सानैदेखि गरिन् । हजुरबुवाले पढ्ने श्रीमद्भागवत कथाका माध्यमबाट नै उनले वृन्दावन र भगवानप्रति आस्था राख्दै गइन् । उनका अनुसार सानोमा कसैले उनलाई के बन्ने सोध्दा, ‘म पण्डित बन्छु’ भनेर भन्थिन् । त्यसपछि संस्कृत विद्यालयमा भर्ना भएर अध्ययन गरेकी उनी संस्कृति शिक्षाकै लागि १२/१३ वर्षकै उमेरमा भारतको वृन्दावन पुगिन् त्यहीँबाटै आचार्यसँगै भजन गीतसङ्गीत समेत सिकिन् ।

देवी प्रतिभाको शुरुवाती शिक्षा काभ्रेकै बनेपास्थित पञ्चकुमारीमा भयो । त्यसपछि गाउँमै उनले नवप्रतिभा बोर्डिङ स्कूलमा अध्ययन गरिन् । उनको संस्कृत पढ्ने सानैदेखि रुचीका कारण नै उनले परिवारसँग यसकै लागि जिद्दी गरिन् । काठमाडौँको प्रदर्शनीमार्गस्थित वाल्मिकि विद्यापीठमा समेत उनले केही समय संस्कृति विद्या अध्ययन गरेकी थिइन् ।

वृन्दावन पुगेपछि उनी ‘श्रीमद् दयानन्द कन्या गुरुकुल चोटीपुरा’ मा भर्ना भइन् । त्यहाँ उनले एक वर्षको कोर्षलाई ६ महिनामै पूरा गरी १४ वर्षको उमेरमै त्यही भागवत कथा वाचन शुरु गरेकी थिइन् । केही समय अयोध्यामा पनि संस्कृतको शिक्षा लिएकी उनले आफ्नो अध्ययनसँगै कथा वाचनलाई समेत सँगसँगै लगिन् ।

उनले वृन्दावनमै स्थापना गरेको ‘राष्ट्रसेवा परिवार’ नामक संस्था मार्फत विभिन्न सामाजिक कार्यहरुसँगै वृन्दावनमा सामूहिक विवाह र निशुल्क भोजनको व्यवस्था गर्दै आएकी छिन् । संस्थामार्फत नै नेपालबाट वृन्दावन भ्रमण र दर्शनका लागि जाने नेपालीहरुलाई निःशुल्क भोजन र आवासका लागि एउटा भवन समेत निर्माण गर्ने उनकाे उद्देश्य छ । त्यहाँ संस्कृत अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि समेत व्यवस्थापन गर्ने उनको चाहना छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बिहिबार, अशोज ३, २०८१