तपाईंको फोटो प्रयोग गरेर कसैले नक्कली फेसबुक खाता खोलेको छ ?

rastriyakhabar100@gmail.com' राष्ट्रिय खबर
२८ कार्तिक २०७१, शुक्रबार ०७:५३

पर्वत, २८ कार्तिक  ।  तपाईंको फोटो प्रयोग गरेर कसैले नक्कली फेसबुक खाता खोलेको छ ? वा तपाईंको फेसबुक खातामा कसैले अश्लील तस्बिर, शब्दलगायत कुनै पनि आपत्तिजनक प्रयोग गरेको छ भने अब चिन्ता मान्नु पर्दैन । उजुरी दिए तत्कालै कारबाही हुन्छ । विद्युतीय कारोबार ऐन ०६३ र नियमावली ०६४ बमोजिम त्यस्ता अपराध गर्ने व्यक्तिलाई तीन वर्ष कैद वा दुई लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुनेछ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयअन्तर्गत प्रमाणीकरण नियन्त्रकको कार्यालयले नियन्त्रण अभियान थालेको छ । कार्यालयले साइबर अपराध नियन्त्रण गर्न सजग गराउने उद्देेश्यले पर्वतमा गरेको ‘विद्युतीय हस्ताक्षर, सूचना संरक्षण तथा साइबर अपराध नियन्त्रण’ अन्तरक्रियामा सूचनासँग नजिक रहेका सबैलाई सजग गराएको हो । ‘ऐन सार्वजनिक भएको दशक पुग्न लाग्दा पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन,’ प्रमाणीकरण नियन्त्रक कार्यालयका सहनियन्त्रक मनीष भट्टराईले भने, ‘त्यसले गर्दा पछिल्लो समय फेसबुक, ट्वीटर, इमेललगायत सामाजिक सञ्जालमार्फत अपराध बढ्न थाल्यो ।’

 यसको नियन्त्रण गर्न त्यस्ता सञ्जाल प्रयोगकर्ताले सकारात्मक कदम चाल्न सकून् भनेर चेतनामूलक अभियान थालेको उनले बताए । चालू वर्षमा पर्वतबाट सुरु चेतनामूलक अन्तरक्रियात्मक कार्यक्रम १० जिल्लामा चल्ने उनले बताए । फेसबुकमा कसैको तस्बिर राखेर नक्कली खाता खोल्ने, फोटामा शरीर एउटाको र टाउको अर्कैको राखेर बदनाम गर्ने, कसैको इमेल खाताको पासवर्ड ह्याक गर्नेजस्ता अपराध बढ्न थालेपछि जिल्ला-जिल्लामा यो अभियान चलाएको कम्प्युटर इन्जिनियर सुरेश बसौलाले बताए । साइबर अपराध गरेको जानकारी पाउनासाथ त्यस्तो प्रमाण कम्प्युटरमा सुरक्षित राखेर नजिकको प्रहरीमा खबर गर्न सहभागीलाई सुझाएका थिए । कार्यक्रममा सहभागी पर्वतका सबै सरकारी तथा गैरसरकारी कार्यालय प्रमुख, प्रहरी, सञ्चारकर्मीलगायतलाई विद्युतीय कारोबार ऐन ०६३ र नियमावली ०६४ मा भएका प्रावधानबारे प्रस्ट पारिएको थियो ।
 ‘अहिले साइबर अपराध हेर्ने काम काठमाडौं जिल्ला अदालतले मात्रै गर्दै आएको छ,’ नासु खडानन्द पाण्डेले भने, ‘यहाँहरूले आफूलाई अनैतिक म्यासेज पठाउनेलगायत अपराध गर्न खोज्ने व्यक्तिको फेसबुक, इमेल ओपन नगरी सुरक्षित राखेर प्रहरीमा सीधै खबर गर्नुस् ।’ प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले कानुन भएर पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा र चेतनाको कमीले कारबाहीमा समस्या भएको बताए । कार्यक्रममा विद्युतीय हस्ताक्षर, बैंक तथा वित्तीय संस्थाहरूको बैंङकङ सुरक्षालगायतमा जानकारी गराइएको थियो । ऐनले तोकेको कुरा विद्युतीय कारोबार गर्नेमध्ये पाँच प्रतिशतलाई पनि जानकारी नभएको कार्यक्रमका सहभागीले बताए ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

बुधबार, अशोज २३, २०८१