बागमती प्रदेश सरकारमा मास्टर्स डिग्रीदेखि ‘प्लस टु’ अध्ययनसम्म

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१० श्रावण २०८१, बिहीबार ०६:३०

मकवानपुर । बागमती प्रदेश सरकारमा एमालेबाट मास्टर्स डिग्री गरेकादेखि माध्यमिक तहसम्म अध्ययन गरेकालाई मन्त्री बनाइएको छ । एमालेले समानुपातिक सांसद सिन्धुलीकी सुकमाया तामाङलाई मन्त्री बनाएको छ ।

उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री तामाङ सिन्धुलीको दुधौली नगरपालिका–९ निवासी हुन् । उच्चमाध्यमिक तह (+२)सम्मको अध्ययन गरेकी उनी पहिलो पटक मन्त्री बनेकी हुन् ।

एमालेले स्नाकोत्तर गरेका ललितपुरका प्रेमभक्त महर्जनलाई पनि मन्त्री बनाएको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका महर्जन ललितपुर–३ (२)बाट निर्वाचित सांसद हुन् ।

ललितपुर महानगरपालिका वडा नम्बर–२२ निवासी महर्जन पहिलो पटक मन्त्री बनेका हुन् । एमालेबाट कृषि तथा पशुपन्छी मन्त्री बनेका प्रकाश श्रेष्ठ काठमाडौँ निर्वाचन क्षेत्र ७ (२)बाट निर्वाचित सांसद हुन् । अघिल्लो कार्यकालमा पनि सोही क्षेत्रबाट निर्वाचित सांसद श्रेष्ठ काठमाडौँ नागार्जुन नगरपालिका–३ निवासी हुन् ।

स्नातक तहसम्मको अध्ययन गरेका श्रेष्ठ दोस्रो कार्यकालका लागि मन्त्री बनेका छन् । यस अघि शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा श्रेष्ठ उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री थिए ।

एमालेबाट मन्त्री बनेका किरण थापा भक्तपुर निर्वाचन क्षेत्र नम्बर २(१)बाट निर्वाचित सांसद हुन् । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका भक्तपुर सूर्यविनायक नगरपालिका–८ शिपाडोलका थापाले प्रमाणपत्र तहसम्म अध्ययन गरेका छन् । वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका कृष्ण सिलवाल चितवन निर्वाचन क्षेत्र नम्बर १ (ख)बाट निर्वाचित सांसद हुन् ।

चितवन इच्छाकामना गाउँपालिका–५ मुग्लिनका सिलवालले स्नातक तहसम्मको अध्ययन गरेका छन् । उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ (२)बाट निर्वाचित अमन कुमार मास्केलाई एमालेले पहिलो पटक मन्त्री बनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्री मास्के काठमाडौँ तारकेश्वर नगरपालिका–७, फुटुङ निवासी हुन् ।

आर्किटेक्चर इन्जिनियर उनले स्नात्तकोत्तर, एमफीलसम्मको अध्ययन गरेका छन् । यता विवादका बिच कांग्रेसले ३ जनालाई मन्त्री बनाएको छ । कांग्रेसले पाएको ६ मन्त्रालयमा मन्त्री नियुक्तिका लागि भएको छलफल ठोस निष्कर्षमा पुग्न नसकेपछि ३ जनालाई विनाविभागीय मन्त्री नियुक्त गरिएको हो ।

कांग्रेसले कुन्दनराज काफ्ले, मदुकुमार श्रेष्ठ र श्याम बहादुर खड्कालाई विनाविभागीय मन्त्री नियुक्त गरेको हो । मुख्यमन्त्री बहादुर सिंह लामाको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले विनाविभागीय मन्त्रीहरूलाई शपथ गराएका थिए ।

दोलखा निर्वाचन क्षेत्र नम्बर १ (क)बाट निर्वाचित काफ्ले पहिलो पटक मन्त्री बनेका हुन् । यसअघि संसदीय दलको प्रमुख सचेतक रहेका काफ्लेले पदबाट राजीनामा दिएका थिए । सो पश्चात भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी लिने तयारी अनुसार मन्त्रीको लविङमा रहेका काफ्ले प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बन्ने चर्चा छ ।

दोलखा तामाकोशी गाउँपालिका–३ जफेका काफ्ले कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । काफ्ले नेविसंघबाट मूलधारको राजनीतिमा आएका हुन् । नेविसंघको महामन्त्रीसमेत भइसकेका काफ्लेले स्नातकसम्मको अध्ययन गरेका छन् ।

धादिङ निर्वाचन क्षेत्र नम्बर १ (१)बाट निर्वाचित मदुकुमार श्रेष्ठ कला क्षेत्रसँगै व्यापार व्यवसायमा आवद्ध छन् । धादिङको धुनीवेसी नगरपालिका–३ क्षत्रेपाटीका श्रेष्ठले प्रमाणपत्र तहसम्मको अध्ययन गरेका छन् भने उनी पहिलो पटक मन्त्री बनेका हुन् ।

काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ५ (२)बाट निर्वाचित श्याम बहादुर खड्का पहिलो पटक प्रदेशको मन्त्री बनेका हुन् । कांग्रेस प्रवक्ता प्रकाशशरण महतको विश्वास पात्र खड्का काठमाडौँ बुढानीलकण्ठ नगरपालिका–४ चपलीगाउँका हुन् । स्नातक तहसम्म अध्ययन गरेका खड्काले खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउने चर्चा छ । खड्का होटल तथा कृषि व्यवसायमा आवद्ध छन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१