ग्लोबल कलेजले भित्र्यायो सवा अर्ब लगानी, यसै वर्ष आईपीओ जारी गर्ने

mukunda500.dhungana@gmail.com' rastriyakhabar
८ श्रावण २०८१, मंगलवार ०५:५१

काठमाडौं । उच्च शिक्षामा नाम कमाएको ग्लोबल कलेज ग्रुपले झण्डै सवा एक अर्ब लगानी भित्र्याएको छ ।

नेपाल लाइफ इन्सुरेन्सले प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत सञ्चालनमा रहेका ६ वटा कलेजमा सवा एक अर्ब रुपैयाँ लगानी गर्ने सम्झौता गरेको छ ।

डा. खगेन्द्र ओझाले स्थापना गरी नेतृत्व गरिरहेको ग्लोबल कलेज र युनिग्लोब कलेज नेपालमा व्यवस्थापन र विज्ञान विषयको उच्च शिक्षाका लागि नामुद कलेज मानिन्छन् ।

सम्झौताअनुसार ग्लोबल कलेज सञ्चालन गर्ने प्रोफेसनल एजुकेटर्समा नेपाल लाइफले ७३ करोड ७२ लाख रुपैयाँ लगानी गरी ३५ प्रतिशत स्वामित्व लिएको छ । यसैगरी युनिग्लोब हायर सेकेण्डरी स्कूलमा ६० करोड लगानी गरी ४७ प्रतिशत सेयर स्वामित्व लिएको छ ।

लगानीसम्बन्धी सम्झौतामा आइतबार ग्लोबल ग्रुपका अध्यक्ष डा. खगेन्द्र ओझा र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविणरमण पराजुलीले सेयर लगानी सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् ।

शिक्षा क्षेत्रमा ग्लोबल ग्रुप भनेर चिनिने प्रोफेसनल एजुकेटर्स लिमिटेड अन्तर्गत ग्लोबल कलेज अफ म्यानेजमेन्ट, ग्लोबल स्कुल अफ साइन्स, युनिग्लोब स्कुल/कलेज, भ्याली भ्यु स्कुल, ग्लोबल कलेज इन्टरनेसनल र लिबर्टी कलेज सञ्चालनमा छन् ।

कलेजमा भित्रिएको नयाँ संस्थागत लगानीले ग्लोबल कलेज ग्रुपलाई थप बलियो र संस्थागत बनाएको संस्थापक डा.ओझाले बताए ।

‘२० वर्ष अगाडि हामी शिक्षकहरुले सुरु गरेको शैक्षिक संस्था आज संस्थागत लगानीसँगै अझ बलियो भएको छ,’ डा. ओझाले भने, ‘प्राप्त नयाँ लगानी कम्पनीको वित्तीय अवस्था सुधार गर्न र नयाँ भौतिक संरचना निर्माणमा खर्च गर्ने छौं ।’

उनका अनुसार आईपीओ जारी गर्ने सर्तसहित नयाँ लगानी भित्राइएको हो । ‘हामी यसै वर्ष आईपीओ फाइल गर्ने गरी तयारी गरिरहेका छौं’ ओझाले भने, ‘पब्लिकलाई पनि कलेजको मालिक बनाउने गरी हाम्रो तयारी छ ।’

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१