आलोचनापछि उपसभामुख राना भन्छिन्, ‘इन्टरभ्यू डेट लेटरहेडमा सिफारिस गर्नु हुन्थ्यो या हुँदैनथ्यो थाहै भएन’

mukunda500.dhungana@gmail.com' rastriyakhabar
४ श्रावण २०८१, शुक्रबार ०६:२३

काठमाडौँ । उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई भिसाका निम्ति लेखेको व्यक्तिगत पत्र सार्वजनिक भएको छ ।

उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर प्रयोग गरी अमेरिकी दूतावासलाई आफूसहित छ जना अमेरिका जानुपर्ने भएकाले चाँडो इन्टरभ्यूको डेट मिलाइदिन अनुरोध गर्दै लेखिएको सार्वजनिक भएपछि अहिले सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ ।

रानाले २५ फेब्रुवरी २०२३ (२०७९ फागुन १३) मा लेखेको पत्र सार्वजनिक भएको छ । पत्र सार्वजनिक भएसँगै उपसभामुखमाथि पदको दुरुपयोग गरेको आरोप लागेको छ । कांग्रेसले यसलाई पदीय दुरुपयोग भन्दै संवैधानिक परिषदको सदस्यसमेत भएको व्यक्तिले यसरी पत्र लेख्नु गम्भीर त्रुटि भएको भन्दै नैतिकताको प्रश्न उठेको बताएको छ ।

उपसभामुख रानाले झन्डै डेढ वर्षअघि लेखेको पत्रमा कमिसन अन द स्टाटस अफ ओमन ‘सीएसडब्ल्यू ६७’ को कार्यक्रममा सहभागी हुन आफूसमेत जाने उल्लेख गरी आफ्नो कूटनीतिक राहदानी र सिफारिस गरिएका पाँचको साधारण राहदानी नम्बरसमेत राखी पत्र पठाइएको थियो ।

पत्रमा उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनप्रसाद गुरुङको नाम उल्लेख छ ।

उपसभामुख पद विशिष्ट व्यक्तिहरुकोे मर्यादाक्रममा सातौँ नम्बरमा पर्छ । राज्यबाट उच्च अपदस्थ ‘भीआईपी’ सुविधा लिने व्यक्ति विदेश जानुपरे भिसा प्रक्रिया सरकारी संयन्त्रले गरिदिन्छ ।

उपसभामुखको हकमा भ्रमणको प्रयोजन र उद्देश्य खुल्नासाथ त्यसमा जाने या नजाने निर्णय भएपछि महासचिवबाटै तोक लगाएर प्रक्रिया अघि बढ्छ ।

संघीय संसद्को अन्तर्राष्ट्रिय शाखाबाट अनुमोदन भएपछि महासचिवले परराष्ट्र मन्त्रालयलाई पत्रसहित सिफारिस गरेपछि परराष्ट्रमार्फत् अमेरिकी दुतावाससँग भिसा प्रक्रिया अघि बढ्छ । तर, त्यसरी पुग्नुपर्ने पत्र सिधै सर्वसाधारणको हातबाट अमेरिकी दूतावास पुगेको पाइएको छ ।

उपसभामुख रानाले पत्रबारे गोलमटोल जवाफ दिइन् । उनले भनिन्, ‘‘पत्रको लेटरहेड र हस्ताक्षर हेर्दा म त्यो जिम्मा लिन्छु । तर दूतावासले भिसा नदिएकाले त्यसबारे थप चर्चा गर्नु आवश्यक देख्दिनँ ।’’

संसद् बाहिरका व्यक्तिलाई कसरी सिफारिस गर्नुभयो भन्ने प्रश्नमा रानाले आफूलाई प्रक्रिया थाहा नभएको बताउँछिन् । उनी भन्छिन्, ‘‘मेरो खराब मनसाय थिएन । त्यो विषय उचालेर घृणित राजनीति भइरहेको छ ।’’

आफू २००७ बाट अमेरिका गइराखेको र त्यसरी मान्छे लिएर नगएको दाबी गरिन् । उनले भनिन्, “म उपसभामुख भएर भर्खर भर्खर पार्लियामेन्ट आएकी थिएँ, दुई महिना पनि भएकै थिएन । मलाई त्यसरी पत्र दिनुहुन्छ कि हुँदैन थियो थाहा थिएन ।”

उनले संसद्भित्रै कसैलाई सोधेको र हुन्छ भनेपछि पत्र पठाएको बताइन् । तर, उनले को सँग सोधिएको भन्ने खुलाउन सकिनन् । “यहाँ सोधेको हो, हुन्छ भनेपछि दिएकी हुँ,” रानाले भनिन्, “कुन नियतले मान्छे आयो भन्ने त खुलाउँदैनन्, जनता भएर आएको हुन्छ, मलाई कसरी थाहा हुने र ?”

उनले सिफारिसमा परेका कसैलाई लिएर गएको प्रमाण ल्याउन चुनौती दिइन् । “कसैलाई लिएर गएको भए प्रमाण खोज्नुस्,’’ उनले भनिन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१