आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै

mukunda500.dhungana@gmail.com' rastriyakhabar
२ श्रावण २०८१, बुधबार ०६:२१

काठमाडौं । आज हरिशयनी एकादशी अर्थात् तुलसी सार्ने दिन घर घरमा तुलसीको बिरुवा सारि मनाईंदैछ । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारि हरिशयनी एकादशी मनाइन्छ । एक महिनाअघि जेठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।

आजदेखि कात्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विशेष पूजा आराधना गरिन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको शास्त्रमा उल्लेख छ ।

शास्त्रीय वर्णनअनुसार भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चतुर्मास भनिन्छ । चतुर्मास अवधिमा तुलसीको सेवा गर्नु अति उत्तम मानिन्छ । चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने धार्मिक प्रचलन छ ।

हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण दिनका रुपमा लिइने आजकाे दिन निराहार व्रत बसी भगवान् श्रीविष्णु (हरि) र तुलसीको पूजा अर्चना गरे आफ्नो मनोकामना पूरा हुने जनविश्वास छ । हरिशयनी एकादशी दिन उपासना गरी ब्राह्मणलाई भोजन गराउने, दक्षिणा दिने, गौदान गर्ने, वस्त्रदान गर्ने गरेमा मानिसका पूर्व जन्मका सबै पापको नास हुने तथा पुण्य बढी मोक्ष प्राप्त हुने धार्मिक विश्वास छ ।

विगत वर्षहरुमा हरिशयनी एकादशीका अवसरमा राजधानीको बूढानीलकण्ठ, उपत्यकाका चार नारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्थ्याे । तर गत वर्ष र याे वर्ष काेभिड महामारीका कारण कतिपय मन्दिर बन्द छन् । कतिपय मन्दिरमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पूजा गरिँदैछ ।

वैज्ञानिक महत्व बाेकेकाे तुलसीकाे महत्व काेभिड महामारीका कारण अझ बढ्दै गएकाे छ । काेभिडबाट बच्न मानव शरीरमा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न तुलसी महत्वपूर्ण मानिन्छ ।तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास गरिन्छ अक्सिजनकाे मात्रा धेरै पाइने तुलसी खाेकी लगायत विभिन्न रोगका लागि औषधिका रुपमा प्रयोग गरिन्छ । तुलसी भएका ठाउँमा शुद्ध हावा बहने तथ्य समेत वैज्ञानिक रुपमा पुष्टि भएको छ ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१