शरदसिंहलाई २० औँ अवसर

mukunda500.dhungana@gmail.com' rastriyakhabar
१ श्रावण २०८१, मंगलवार ०६:११

काठमाडौं । वि.सं. २०२८ सालदेखि सक्रिय राजनीति गर्दै आएका लोकतान्त्रिक समाजवादीका नेता शरदसिंह भण्डारी २० औँ पटक मन्त्री बनेका छन् ।

गत असार १७ गते नेकपा एमाले र नेपाली कांग्रेसको गठबन्धन बनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल असार २८ मा सत्ताबाट बाहिरिएका थिए ।

वरिष्ठ पत्रकार भैरव रिसाल र भरतराज पोखरेलले ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तकमा २०७५ सम्म बनेका नेपालका मन्त्रिमण्डलहरुको सूची छ ।

उक्त पुस्तकमा रहेको मन्त्रिमण्डलको सूचीअनसार भण्डारी मन्त्रिमण्डल निर्माण, पुनर्गठन र विस्तारमा गरी २०७५ सम्मै १७ पटक मन्त्री बनिसकेका छन् ।

उनी त्यसयता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फेरि अहिले ओली नेतृत्वको गरी २० औँ पटक मन्त्री बनेका छन् । भण्डारी पहिलो पटक २०४३ असार २ मा सहायकमन्त्रीका रुपमा मन्त्री मण्डलमा प्रवेश गरेका थिए । त्यसयता उनले ११ वटा मन्त्रालयको नेतृत्व लिइसकेका छन् ।

पञ्चायत तथा स्थानीय विकास सहायक राज्यमन्त्रीबाट सुरु भएको उनको सत्ता २० औँ पटकसम्म आइपुग्दा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा पुगेको छ । २०७९ चैतमा प्रचण्ड नेतृत्वको सरकारमा पनि उनी यही मन्त्रालयमा थिए ।

उनले यसअघि वाणिज्य राज्यमन्त्री, विनाविभागीय राज्यमन्त्री, युवा खेलकुद तथा संस्कृति, स्वास्थ्य, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, उर्जा, जलस्रोत तथा सिचाइँमन्त्रालय सम्हालेका थिए ।

लोसपा नेता भण्डारी एमालेका अध्यक्ष ओली नेतृत्वको यसअघिको सरकारमा ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए । त्यसअघि २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री थिए ।

भण्डारी पञ्चायत, प्रजातन्त्र र गणतन्त्र गरी तीनैै व्यवस्थामा सरकारमा सहभागी भएका नेता हुन् । उनी पञ्चायती व्यवस्था अन्तर्गत २०४३ असार २ मा मरिचमान सिंह श्रेष्ठ नेतृत्वको सरकारमा पहिलो पटक पञ्चायत तथा स्थानीय विकास सहायकमन्त्री भएका थिए ।

सिंह नेतृत्वको तत्कालीन सरकार पुनर्गठन हुँदा २०४५ कात्तिकमा उनको मन्त्रालय फेरिएको थियो । पुनर्गठित मन्त्रिपरिषद्मा भण्डारी वाणिज्य राज्यमन्त्री थिए ।

प्रधानमन्त्री सिंहले २०४६ भदौ १४ र चैत १९ मा पनि मन्त्रिपरिषद् पुनर्गठन गर्दा पनि भण्डारीले वाणिज्य राज्यमन्त्रीको जिम्मा पाए ।

२०४६ सालको जनआन्दोलनपछि उनी २०५२ मा फेरि मन्त्री बने । २०५२ भदौ २७ मा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा बिनाविभागीय राज्यमन्त्री भए ।

देउवा नेतृत्वको उक्त सरकारमा २०५२ मंसिर २७ मा बिनाविभागीय राज्यमन्त्री बनेका उनी २०५३ जेठ ४, जेठ २८ को पुनर्गठनमा पनि यथावत रहे । तर, २०५३ पुस २४ मा भएको पुनर्गठनमा बिनाविभागीय मन्त्रीमा उनको बढुवा भयो ।

उनी २०५४ असोज २१ मा राप्रपा नेता सूर्यबहादुर थापाको नेतृत्वमा सरकार गठन हुँदा युवा खेलकुद तथा संस्कृति मन्त्री भए । प्रधानमन्त्री थापाले २०५४ कात्तिक २१ र मंसिर १८ मा मन्त्रिपरिषद् पुनर्गठन गर्दा उनले खेलकुदमन्त्रीका रुपमा निरन्तरता पाएका थिए ।

कांग्रेस नेता कृष्णप्रसाद भट्टराईको नेतृत्वमा २०५६ जेठ १७ मा सरकार गठन भएको थियो । उक्त सरकारमा पनि भण्डारीले खेलकुद मन्त्रीका रुपमा निरन्तरता पाएका थिए । २०५६ असार १६ मा भएको मन्त्रिमण्डल विस्तारमा खेलकुद मन्त्रालय नै पाएका भण्डारीले त्यसै साल फागुन २७ मा भएको पुनर्गठनमा स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका थिए ।

२०५८ साउन ११ मा देउवा फेरि प्रधानमन्त्री हुँदा भण्डारीले फेरि स्वास्थ्यमन्त्री बन्ने अवसर पाएका थिए । माधवकुमार नेपाल नेतृत्वमा २०६६ जेठमा गठित सरकारमा पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका भण्डारी २०६८ भदौमा डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा रक्षामन्त्री भए ।

२०७८ असार २९ मा कांग्रेस सभापति देउवा पाँचौँपल्ट प्रधानमन्त्री बन्नुअघि एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारमा भण्डारी १३ दिनका लागि ऊर्जा, जलस्रोत तथा सिचाइँमन्त्री थिए ।

सबै व्यवस्थामा मन्त्री

भण्डारी २०४३ मा पहिलो पटक सहायकमन्त्री हुँदा पञ्चायती व्यवस्था थियो । पुख्र्याैली थलो पोखराका भण्डारी २०३८ र २०४३ मा महोत्तरीबाट राष्ट्रिय पञ्चायत सदस्य भए ।

२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्र्थापनापछि भण्डारीले पञ्चायती प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वमा गठन भएको राप्रपा (थापा) रोजेर तत्कालीन महोत्तरी–५ मा त्यही पार्टीबाट प्रतिस्पर्धा गरेका थिए ।

उक्त निर्वाचनमा उनी ९ हजार ४५९ मतसहित दोस्रो भए । उक्त निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका वसन्तकुमार गुरुङ १४ हजार ५ सय २८ मतसहित निर्वाचित भए ।

तर, २०५१ को निर्वाचनसम्म पुग्दा भण्डारीले राप्रपा पनि परित्याग गरिसकेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा भण्डारीले महोत्तरी–४ बाट स्वतन्त्र उम्मेदवारी दिए । उक्त निर्वाचनमा ११ हजार ३ सय ९५ मतसहित संसदमा आए ।

उनले २०४८ मा आफूलाई पराजित गर्ने कांग्रेस नेता गुरुङलाई पराजित गरेर २०४८ को हारको बदला लिएका थिए । गुरुङले १० हजार ५ सय ८५ मत प्राप्त गरेका थिए ।

२०४८ मा राप्रपा (थापा) र २०५१ मा स्वतन्त्र उम्मेदवारका रुपमा प्रतिस्पर्धा गरेका उनी २०५१–०५५ को ‘हङ पार्लियामेन्ट’ का बेला कांग्रेससँग नजिकिएका थिए । पछि पार्टी नै प्रवेश गरे । त्यसबेला उनी कांग्रेस नेता कृष्णप्रसाद भट्टराईनिकट थिए ।

कांग्रेस प्रवेश गरेपछि उनले २०५६ मा महोत्तरी–३ बाट प्रतिस्पर्धा गरे । उक्त निर्वाचनमा भण्डारी २० हजार ४ सय ८६ मतसहित निर्वाचित भए । राप्रपा उम्मेदवार रामविलास यादवले १२ हजार १ सय ५४ मत ल्याए ।

दोस्रो जनआन्दोलनलगत्तै मधेशमा मधेशवादी दलहरु शक्तिशाली भए । त्यहीक्रममा कांग्रेस परित्याग गरी उनी मधेशी जनअधिकार फोरममा प्रवेश गरे । त्यसयता २०७० बाहेक भण्डारी सदैव मधेशवादी दलबाट निर्वाचित भएका छन् ।

त्यसमध्ये २०६४ मा उनी तत्कालीन फोरमबाट निर्वाचित भए । तर, फोरम विभाजित भएपछि विजयकुमार गच्छदार नेतृत्वको फोरम (लोकतान्त्रिक) मा समावेश भए । उनी माधव नेपाल र डा. बाबुराम भट्टराई नेतृत्व सरकारमा मन्त्री भए ।

२०७० मा फोरम लोकतान्त्रिकको उम्मेदवारका रुपमा महोत्तरीबाट पराजित उनी २०७४ को निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा)बाट निर्वाचित भए । २०७९ मंसिरमा उनी लोसपाबाट संसदमा आए ।

विगत ३६ वर्षयता पटक–पटक मन्त्री हुँदै आएका उनले मरिचमानसिंह श्रेष्ठ, शेरबहादुर देउवा, सूर्यबहादुर थापा, कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, डा. बाबुराम भट्टराई, केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित ८ जना प्रधानमन्त्रीसँग गरेका छन् । उनले लोकेन्द्रबहादुर चन्द, गिरिजाप्रसाद कोइराला, झलनाथ खनाल र सुशील कोइराला नेतृत्वको सरकारमा अवसर पाएनन् ।

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

आइतवार, भदौ २३, २०८१