विश्व स्वास्थ्य संगठनका १२ आत्म हेरचाह सुझाव कस्ता छन् ?

mukunda500.dhungana@gmail.com' rastriyakhabar
३१ असार २०८१, आईतवार ०५:४३

आत्म हेरचाह सानो शब्द जस्तो लाग्न सक्छ, तर यसले व्यक्तिको जीवनमा ठूलो महत्त्व राख्छ । आत्म हेरचाह (सेल्फ केयर) मानसिक, शारीरिक र भावनात्मक तीन प्रकारका स्वास्थ्यका लागि आवश्यक हुन्छ ।

सेल्फ केयर भनेको आफ्नो स्वास्थ्यका सबै पक्षको उचित हेरचाह गर्न आफैंलाई सचेत गराउनु हो । यसबाट स्वास्थ्यसम्बन्धी कुनै पनि समस्या बढ्नुअघि नै बच्न सकिन्छ ।

प्रत्येक व्यक्तिको लागि आत्म हेरचाह महत्वपूर्ण हुन्छ । सुखी, स्वस्थ र सन्तुलित जीवनको लागि आफ्नो शरीर, भावना र मानसिक स्वास्थ्यको हेरचाह गर्नुपर्छ । आत्म हेरचाहलाई प्राथमिकता दिएर स्वस्थ, सन्तुलित र खुसी जीवन बिताउन सकिन्छ ।

व्यायाम, ध्यान, पढाइ, लेखन, प्रकृतिमा समय बिताउने र आफ्नो मनपर्ने सौखमा संलग्न हुँदा दिमाग, शरीर स्फूर्त रहन्छ । विश्व स्वास्थ्य संगठनका अनुसार आत्म हेरचाहको लागि यी १२ कुरामा ध्यान दिनुपर्छ ।

स्वस्थ आहार महत्त्वपूर्ण छ

आत्म हेरचाह गर्ने सबैभन्दा राम्रो तरिका भनेको आफ्नो खाने बानीमा ध्यान दिनु हो । स्वस्थ र सन्तुलित आहारले शरीरलाई सबै प्रकारका समस्याबाट बचाउन सक्छ । त्यसैले पौष्टिक तत्त्वले भरिपूर्ण खानेकुरालाई आफ्नो नियमित आहारको हिस्सा बनाउनुपर्छ ।

हरेक दिन आफ्नो शरीर सक्रिय राख्न प्रयास गर्ने

आत्म हेरचाह निर्देशनमा शारीरिक गतिविधिमा सहभागितालाई पनि प्राथमिकता दिइएको छ । नियमित रूपमा केही समय आफूलाई सक्रिय राख्नुपर्छ । हिंड्ने, दौडिने, साइकल चलाउने, पौडी खेल्ने जस्ता गतिविधिले शरीरलाई सक्रिय बनाउन मद्दत गर्छ । यस्तो अवस्थामा दीर्घकालीन रोगको जोखिम कम हुन्छ । स्वस्थ र सन्तुलित जीवन बिताउन सकिन्छ ।

खोप आवश्यक छ

रोग र संक्रमणबाट आफूलाई बचाउन खोपलाई आत्म हेरचाहको महत्त्वपूर्ण भागको रूपमा पनि उल्लेख गरिएको छ । एचआईभी, एड्स, कोभिड भ्याक्सिन बाहेक पुरुष र महिलाका लागि अन्य धेरै खोप छन्, जसले विभिन्न रोगको जोखिम कम गर्छ । यसतर्फ ध्यान दिएर साना बालबालिकालाई पनि आवश्यक खोप लगाउनुपर्छ ।

कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थको प्रयोग नगर्ने

स्वहेरचाह निर्देशनले कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थ सेवन नगर्न सुझाव दिन्छ । किनकि यो स्वास्थ्यको लागि फाइदाजनक हुँदैन । त्यसैले कुनै पनि प्रकारको सुर्तीजन्य पदार्थ सेवन गर्नुहुन्छ भने यसलाई तुरुन्तै छोड्नु राम्रो हुन्छ । यदि आफ्नो हेरचाह गर्न चाहनुहुन्छ र स्वस्थ तथा सुरक्षित जीवन बिताउन चाहनुहुन्छ भने यो नियम पालना गर्नैपर्छ ।

रक्सी सेवन नगर्ने

विश्व स्वास्थ्य संगठनका अनुसार आत्म हेरचाहको लागि रक्सीबाट पनि टाढा रहनु उपयुक्त हुन्छ । कहिलेकाहीं सीमित मात्रामा रक्सी सेवन गर्न सकिन्छ तर यसले पनि स्वास्थ्यमा सकारात्मक असर भने पार्दैन ।

शारीरिक र मानसिक स्वास्थ्यका लागि तनाव व्यवस्थापन

आत्म हेरचाह अन्तर्गत तनाव व्यवस्थापन धेरै महत्त्वपूर्ण हुन्छ । किनकि हिजोआज मानिसहरूमा तनाव धेरै बढेको छ, जसकारण शारीरिक तथा मानसिक समस्या बढ्दै गएका छन् । पर्याप्त मात्रामा आराम गर्ने र तनाव व्यवस्थापन गतिविधिमा भाग लिएर आफ्नो तनाव कम गर्न सकिन्छ ।

स्वच्छ बानी अपनाउने

स्वच्छता स्वहेरचाहको एक महत्वपूर्ण भाग हो । त्यसका लागि शरीरको सरसफाइदेखि लिएर आफ्नो घर र वरपरको वातावरणको सरसफाइ महत्त्वपूर्ण हुन्छ । धेरै पटक हामीले आफ्नो शरीर सफा गर्छौं तर वरपरको वातावरणमा रहेको फोहोरका कारण हाम्रो स्वास्थ्यमा नकारात्मक असर पर्न सक्छ । त्यसैले स्वच्छता व्यवस्थापन अभ्यास गर्नुपर्छ ।

ड्रिक एण्ड ड्राइभ नगर्ने

केही कुरामा ध्यान दिएर जीवनलाई लामो, सुरक्षित र स्वस्थ बनाउन सकिन्छ । त्यसैले मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनबाट बच्नुपर्छ । किनकि यसले आफूलाई मात्र होइन, अरू कसैलाई पनि हानि पुर्‍याउन सक्छ ।

सिट बेल्ट र हेल्मेटलाई प्राथमिकतामा राख्ने

सवारी चलाउँदा सिट बेल्ट लगाउनु र मोटरसाइकल चलाउँदा हेल्मेट लगाउनु यात्राको प्राथमिकता हुनुपर्छ । जतिसुकै हतार किन नहोस्, यसलाई छोड्नु हुँदैन, किनकि यसले दुर्घटनाबाट हुनसक्ने क्षतिलाई रोक्न सक्छ र जीवनलाई बचाउन सक्छ ।

सुरक्षित यौन अभ्यास

विश्व स्वास्थ्य संगठनका आत्म हेरचाह निर्देशन अनुसार यौन गतिविधिको समयमा सुरक्षा प्रयोग गर्नुपर्छ । यसबाट यौन सञ्चारित संक्रमण र अनावश्यक गर्भधारणबाट बच्न सकिन्छ । गर्भपतन महिलाको शरीरका लागि राम्रो होइन ।

नियमित स्वास्थ्य परीक्षण

विश्व स्वास्थ्य संगठनले तोकेको निर्देशनअनुसार सबैले नियमित स्वास्थ्य परीक्षण गराइरहनुपर्छ । परीक्षणले कुनै पनि रोग प्रारम्भिक चरणमा नै पत्ता लाग्ने भएकाले रोगको उपचार सम्भव हुन्छ ।

स्तनपान बच्चा र आमा दुवैको लागि फाइदाजनक

स्तनपान आमा र बच्चा दुवैका लागि फाइदाजनक हुन्छ । स्तनपानले महिलामा स्तन क्यान्सरको जोखिम कम गर्छ । बालबालिकामा आमाको दूध हड्डी, मस्तिष्क र समग्र शरीरको विकासका लागि आवश्यक हुन्छ । भविष्यमा कुनै पनि गम्भीर रोगको सामना गर्नु नपरोस् भनेर महिलाले निश्चित रूपमा आत्म हेरचाहको रुपमा स्तनपान गराउनुपर्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

Nepali Date Converter

Nepali Date Converter

शुक्रबार, कार्तिक २, २०८१